काठमाडौँ । धादिङका प्रतिभाशाली युवा गायक सुमन लामा चर्चित साङ्गीतिक रियालिटी शो ‘गाउँछ गीत’ को मेगा राउण्डमा प्रवेश गर्न सफल भएका छन्। आफ्नो मधुर स्वर, आकर्षक प्रस्तुति र सांगीतिक प्रतिभामार्फत निर्णायक तथा दर्शकहरूको मन जित्दै आएका सुमन अहिले प्रतियोगिताको ‘टप ३०’ चरणमा पुग्नका लागि प्रतिस्पर्धा गरिरहेका छन्। यस चरणमा दर्शकको भोट निर्णायक हुने भएकाले उनले सबैलाई आफूलाई भोट गरेर सहयोग गरिदिन आग्रह गरेका छन्।
धादिङको खनियावास गाउँपालिका–१ झार्लाङ निवासी सुमन लामा लोकदोहोरी तथा सेलो गीतमार्फत परिचित युवा गायक हुन्। उनले हालसम्म दर्जनौँ गीतमा स्वर दिइसकेका छन्। ‘क्या बबाल’, ‘सबको मन किन एउटै हुँदैन’, ‘बुलेट बाइक’, ‘टिकटक होई टिकटक’, ‘तिम्रो मायामा फसिसकेछु’ र ‘अन्तिम श्वास’ लगायतका गीतमा उनले स्वर, संगीत तथा अभिनयसमेत गरेका छन्। पछिल्लो समय उनी ‘गाउँछ गीत’ मार्फत राष्ट्रिय स्तरको सांगीतिक प्रतिस्पर्धामा सक्रिय रूपमा सहभागी भइरहेका छन्।
सुमनले प्रतियोगितामा धादिङ जिल्लाको प्रतिनिधित्व गरिरहेकाले उनलाई जिताउन अहिले सामाजिक सञ्जालमा व्यापक समर्थन देखिएको छ। उनका समर्थकहरूले फेसबुक, टिकटक लगायतका प्लेटफर्ममार्फत “धादिङको शान, सुमन लामा” भन्दै भोट अभियान सञ्चालन गरिरहेका छन्। जिल्लाबाट राष्ट्रिय स्तरको प्रतिस्पर्धामा पुगेका सुमनलाई अगाडि बढाउन स्थानीयदेखि विदेशमा रहेका नेपालीहरू समेत सक्रिय बनेका छन्।
गायक सुमन लामाले धादिङबासी, देश तथा विदेशमा रहेका सम्पूर्ण संगीतप्रेमी शुभेच्छुकहरूलाई आफूलाई भोट गरेर साथ दिन अनुरोध गरेका छन्। आयोजकका अनुसार मोबाइल बैंकिङ एपमार्फत क्यूआर कोड स्क्यान गरेर सहज रूपमा भोट गर्न सकिने व्यवस्था गरिएको छ भने विदेशमा रहेका समर्थकहरूले ‘जेनो पे’ एपमार्फत पनि भोट गर्न सक्नेछन्।
‘प्रतिभाको खोजी, मौलिकताको सम्मान : गाउँछ गीतको सांगीतिक अभियान’ भन्ने मूल नारासहित एच एस साइना क्रियसनले निर्माण गरेको यो रियालिटी शोको पुरस्कार राशि २५ लाख रुपैयाँ रहेको छ। कार्यक्रम प्राइम टेलिभिजनमार्फत प्रत्येक शनिवार र आइतबार राति ९ बजे प्रसारण हुँदै आएको छ।
प्रतियोगिताको निर्णायक मण्डलमा संगीतज्ञ सङ्गीता राना प्रधान, गायक तथा संगीतकार थानेश्वर गौतम, गायिका सहिमा श्रेष्ठ तथा लोकगायक अमृत खाती रहेका छन्। डिजिटल अडिसनबाट छनोट भएका उत्कृष्ट ५० प्रतियोगीबीच काठमाडौँको पेप्सीकोलास्थित स्टुडियोमा प्रतिस्पर्धा भइरहेको छ। यसबीच धादिङका सुमन लामालाई उत्कृष्ट स्थानमा पुर्याउन डिजिटल भोटिङको भूमिका महत्वपूर्ण रहने आयोजकले जनाएको छ।



