धादिङवेशी -भोटेकोशीको विनाशकारी बाढीबाट घरविहीन भई सुरक्षित स्थल तथा अस्थायी आश्रयस्थलमा बसोबास गरिरहेका महिला तथा बालिकाहरूमाथि कुनै पनि किसिमको हिंसा, दुर्व्यवहार वा थप पीडा नहोस् भन्ने उद्देश्यका साथ धादिङको गल्छीमा ‘स्नेह केन्द्र’ (महिलामैत्री स्थल) सञ्चालनमा ल्याइएको छ।

ओरेक नेपालले तरङ्गिनी फाउन्डेसनसँगको समन्वय तथा गल्छी गाउँपालिका र थाक्रे गाउँपालिकाको सहयोगमा उक्त केन्द्र स्थापना गरी सेवा प्रारम्भ गरेको हो।

विपद्का बेला अस्थायी आश्रयस्थलहरूमा महिला, किशोरी तथा बालबालिकाहरू हिंसा र दुर्व्यवहारको उच्च जोखिममा पर्ने सम्भावनालाई मध्यनजर गर्दै केन्द्रले उनीहरूको सुरक्षा, सम्मान, र स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ। विस्थापित बनेर मानसिक तथा शारीरिक कष्ट भोगिरहेका महिलाहरूका लागि सुरक्षित र विश्वासयोग्य वातावरण निर्माण गरी आवश्यक सहयोग पुर्‍याउनु यस केन्द्रको मुख्य ध्येय रहेको छ।

गल्छीमा स्थापित यस स्नेह केन्द्रमार्फत बाढी प्रभावित महिला तथा बालिकाहरूलाई मनोसामाजिक परामर्श तथा सहयोग, विशेष आवश्यकताको पहिचान, स्वास्थ्य सेवामा सहजीकरण, र सुरक्षासम्बन्धी आवश्यक सूचना तथा परामर्श उपलब्ध गराइनेछ।

ओरेक नेपाल र साझेदार संस्थाहरूले गल्छी र थाक्रे क्षेत्रमा मात्र नभई धादिङ जिल्लाभरका सम्पूर्ण बाढीपीडित तथा प्रभावित महिलाहरूसम्म पुगेर उनीहरूलाई हिंसाबाट जोगाउन र आवश्यक सहयोग पुर्‍याउन प्रतिबद्धता व्यक्त गरेका छन्।

Share.

Comments are closed.

Exit mobile version