इटहरी/ कुनै समय भोजपुरी र मैथिली म्युजिक भिडियोमा ‘क्वीन’ कै रूपमा चिनिने मेनुका माझी अब नेपाली फिल्म उद्योगमा आफ्नो बलियो छाप छोड्ने तयारीमा जुटेकी छन् । म्युजिक भिडियो मोडलिङ हुँदै फिल्मी अभिनयसम्मको लामो यात्रा तय गरेकी मेनुकालाई आगामी फिल्म ‘लज्जावती’ले ठूलो पर्दामा स्थापित गराउने विश्वास गरिएको छ । पछिल्लो समय नेपाली म्युजिक भिडियोमा समेत छाउन थालेकी उनका लागि यो फिल्म ड्रिम प्रोजेक्ट बनेको छ ।

यसअघि मेनुकाले ‘बिहे पास’, ‘प्रपञ्च’, ‘कृष्णलीला’, ‘प्रेमपूजा’ र ‘क्वीन’ सहित सातवटा नेपाली फिल्ममा काम गरिसकेकी छन् । तर, तीमध्ये कतिपय फिल्म रिलिज नै भएनन् भने हलमा आएका फिल्मले पनि सोचेजस्तो चर्चा पाउन सकेनन् । जसले गर्दा मेनुकाको वास्तविक अभिनय क्षमता दर्शकले ठूलो पर्दामा देख्नै नपाएको उनको गुनासो छ । यद्यपि, ‘लज्जावती’ लाई उनी आफ्नो फिल्मी करियरको सबैभन्दा ठूलो ‘टर्निङ पोइन्ट’ मान्छिन् ।

यस फिल्ममा आफूले चरित्रलाई पूर्ण रूपमा न्याय गरेको र दर्शकले आफ्नो अभिनयलाई नजिकबाट नियाल्न पाउने हुँदा यसपटक दर्शकको मन जित्नेमा उनी पूर्ण रूपमा विश्वस्त छिन् । मोडलिङको दुनियाँमा मेनुकाको विगत निकै लोभलाग्दो छ । राम्रो गायन क्षमता समेत भएकी उनले सुरुवाती दिनमा ‘धान गहु होता हे’ बोलको मैथिली गीतबाट म्युजिक भिडियो मोडलिङमा डेब्यु गरेकी थिइन् । छोटो समयमै ‘लभर बेस्ट’ बोलको गीतले उनलाई चर्चाको शिखरमा पुर्‍यायो र ‘मेनुका माझी’ को नामले मोडलिङको दुनियामा चिनायो ।

उनका दर्जनौं भोजपुरी र मैथिली गीतहरू सुपरहिट छन् । त्यति मात्र होइन, उनले एक दर्जनभन्दा बढी हिन्दी गीतमा समेत आफ्नो मोडलिङ कला प्रस्तुत गरिसकेकी छन् । हालसम्म विभिन्न भाषाका झण्डै एक सय म्युजिक भिडियोमा उनले अभिनय गरेकी छन् । लुम्बिनी प्रदेशको प्युठानमा जन्मिएकी मेनुकाको जीवनको लामो समय भने कोशी प्रदेशको सुनसरीमा बित्यो । सुनसरीलाई नै स्थायी बसोबास बनाएकी उनी पछिल्ला केही वर्षयता भने निरन्तर काठमाडौंमै केन्द्रित छिन् ।

काठमाडौं बसाइँ सर्नुमा उनको व्यावसायिक फड्को प्रमुख कारण हो । अन्तर्राष्ट्रिय मोडल हन्ट ‘फेस अफ नेपाल’को नेपालका लागि पूर्ण स्वामित्व आफ्नो हातमा लिएपछि उनी काठमाडौंमै रहेर काम गरिरहेकी छन् । हाल उनी यस चर्चित प्रतियोगिताको ‘नेशनल डाइरेक्टर’को महत्त्वपूर्ण जिम्मेवारीमा रहेर नेतृत्व सम्हालिरहेका छन् । मोडलिङ, अभिनय र कर्पोरेट जिम्मेवारीलाई सँगसँगै अगाडि बढाइरहेकी मेनुकाको अबको सम्पूर्ण ध्यान भने ‘लज्जावती’ मार्फत दर्शकको मन जित्नमा केन्द्रित छ । यता यही बेला उनले फेस अफ नेपाल २०२६ को आयोजना समेत गरिरहेकी छन् ।

Share.

Comments are closed.

Exit mobile version