काठमाडौँ। सीप प्रशिक्षणको मात्र अनुमति लिएर अनधिकृत रूपमा सीप परीक्षण तथा प्रमाणीकरण गर्दै आएको ललितपुरस्थित ‘इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युट’ (आईटीआई) मा सरकारले सिलबन्दी गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) र वैदेशिक रोजगार विभागको संयुक्त टोलीले छापा मारेर संस्थाको सम्पूर्ण कामकाज रोक्का गरेको हो।
वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई मापदण्डविपरीत सीप प्रमाणीकरणको प्रमाणपत्र बाँडिरहेको भन्ने गुनासोका आधारमा पुगेको टोलीले आकस्मिक अनुगमन गर्दा गम्भीर कानुन उल्लङ्घन भएको पाएको छ। सीटीइभीटीबाट तालिम दिन मात्र स्वीकृति पाएको उक्त संस्थाले सरकारी निकायको क्षेत्राधिकारभित्र पर्ने सीप परीक्षण र प्रमाणीकरणको काम अवैध रूपमा गर्दै आएको भेटिएको हो।
अनुगमनका क्रममा संस्थाले स्वीकृति लिएका विधाभन्दा फरक विषयहरूमा समेत अवैध रूपमा तालिम सञ्चालन गरिरहेको पाइएको छ। टोलीले संस्थाको दर्ता प्रमाणपत्र, वैदेशिक कम्पनीसँग गरिएका सम्झौता, सीप परीक्षण गरिएका विवरण लगायतका महत्त्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका कागजातको विस्तृत अनुसन्धानपछि थप कानुनी कारबाही अघि बढाउने तयारी सरकारले गरेको छ।
