काठमाडौँ।डेनमार्कका वैज्ञानिकहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी मानिस कति वर्ष बाँच्छ र कहिले मृत्यु हुन सक्छ भन्ने पूर्वानुमान गर्ने प्रविधि तयार पारेका छन्। ‘लाइफ–२–भेक’ नाम दिइएको यो परियोजनामार्फत अनुसन्धानकर्ताहरूले करिब ६० लाख मानिसको सामाजिक तथा स्वास्थ्यसम्बन्धी तथ्याङ्क (डाटा) को विश्लेषण गरेर यस्तो निष्कर्ष निकालेका हुन्।
‘नेचर कम्प्युटेशनल साइन्स’ मा प्रकाशित अनुसन्धान प्रतिवेदनअनुसार यो एआई मोडलले प्रसिद्ध म्यासेजिङ टुल च्याटजीपीटीले जस्तै भाषा प्रशोधन गर्ने प्रविधिको आधारमा काम गर्छ। यसले मानिसको जन्म, शिक्षा, स्वास्थ्य स्थिति, रोजगारी, आम्दानी र विवाह जस्ता जीवनका महत्त्वपूर्ण घटनाक्रमहरूलाई क्रमिक रूपमा विश्लेषण गरी भविष्यमा हुन सक्ने सम्भावित घटनाहरूको पूर्वानुमान गर्दछ।
वैज्ञानिकहरूले ३५ देखि ६५ वर्ष उमेर समूहका मानिसहरूमाथि यो मोडलको परीक्षण गर्दा मृत्युको पूर्वानुमानमा ७८ प्रतिशतसम्म सही नतिजा पाएको दाबी गरेका छन्। यसका साथै कुनै व्यक्ति आफ्नो स्थान छाडेर नयाँ ठाउँमा बसाइँ सर्छ कि सर्दैन भन्ने कुराको अनुमान लगाउन पनि यो प्रविधि ७३ प्रतिशत सफल देखिएको छ।
डेनमार्क टेक्निकल युनिभर्सिटीका प्रोफेसर जुने लेहमानका अनुसार यो सफ्टवेयर हाल अनुसन्धानको प्रारम्भिक चरणमा मात्र रहेको छ र सर्वसाधारणको प्रयोगका लागि इन्टरनेटमा उपलब्ध गराइएको छैन। इन्टरनेटमा पाइने अन्य मृत्युको भविष्यवाणी गर्ने दाबी गरिएका टुलहरू अक्टोबर वा गलत हुने भएकाले त्यसमा विश्वास नगर्न वैज्ञानिकहरूले सचेत गराएका छन्। यो परियोजनाको मुख्य उद्देश्य मानिसलाई तर्साउनु नभई एआई प्रविधिको क्षमता, सम्भावना र यसका जोखिमबारे जागरुक बनाउनु रहेको अनुसन्धान टोलीले जनाएको छ।
