काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र उचित पार्किङ स्थलको अभावमा सर्वसाधारण र चालकहरू पटक-पटक महानगरको पासोमा परिरहेका बेला, महानगर प्रहरीको ज्यादती र दमनका विरुद्ध जनआक्रोश चुलिएको छ। सहरमा पार्किङको विकल्प नदिई गरिने कडा कारबाही र चर्को जरिवानाका कारण विपन्न तथा श्रमजीवी वर्ग मारमा परिरहेका छन्।

यस्तै नीतिगत दबाब र आर्थिक पीडाका कारण त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक युवकले आत्मदाहको प्रयास गरेको दुःखद घटना सार्वजनिक भएको छ। कृषि विषयमा स्नातक (B.Sc. Ag) गरेर पनि देशमा रोजगारी नपाएपछि परिवारको दैनिक खर्च जुटाउनकै लागि ‘राइड सेयरिङ’ (पठाओ/इनड्राइभर) गर्न विवश मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपाली महानगरको त्यही चक्रव्यूहमा परेका थिए। गरिब परिवारका सदस्य नेपालीले महानगरको कारबाहीपछि जरिवाना तिर्ने रकम समेत जुटाउन नसक्ने गम्भीर आर्थिक पीडाका कारण बिहीबार दिउँसो ३ बजे आफ्नै शरीरमा आगो लगाएका थिए। सहरका श्रमजीवीमाथि महानगरले गरिरहेको अमानवीय व्यवहार र दमनले सीमा नाघ्दा यो आत्मघाती मोड निम्तिएको भन्दै सर्वसाधारणले सामाजिक सञ्जाल र सडकमा आक्रोश पोखिरहेका छन्। तर, यति ठूलो घटना हुँदा र महानगरमाथि गम्भीर प्रश्न उठ्दा पनि कार्यवाहक महानगर प्रमुख सुनिता डंगोलले भने अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएकी छैनन् ।

यसैबीच, सरकारले चिकित्सकहरूको सुझाव अनुसार जलनका गम्भीर बिरामी गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नलैजाने निर्णय गरेको छ।

उनको उपचारमा संलग्न चिकित्सकहरूले सुरुवातमा दिएको सुझाव अनुसार सरकारले नेपालीलाई भारतको नयाँ दिल्लीस्थित ‘एम्स’ अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरेको थियो। उनलाई तत्कालै विमानस्थल पुर्‍याउन र ‘ग्रीन कोरिडोर’ कायम गर्न गृहमन्त्री सुदन गुरुङ आफैँ खटिएर सडकमा नेपाल प्रहरी र ट्राफिक प्रहरी रातभर परिचालन गरेका थिए । साथै सरकारले गणेशको जीवन रक्षाका लागि हवाई उद्धार (एयर एम्बुलेन्स) को समेत व्यवस्था गरेको थियो।

यसअघि सरकारले नेपालीको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाटै ब्यहोर्ने घोषणा गरिसकेको छ। भारतको विमानस्थलबाट नेपालीलाई एम्स अस्पतालसम्म लैजाने सबै बन्दोबस्त समेत कूटनीतिक नियोगमार्फत मिलाइएको थियो।

तर, वीर अस्पतालको बर्न आईसीयू वार्डमा भेन्टिलेटरमा ररहेका नेपालीको स्वास्थ्य अवस्था अत्यन्तै अस्थिर बनेपछि यस्तो गम्भीर अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा झन् ज्यानको जोखिम हुने चिकित्सकहरूले बताएका छन्। चिकित्सकहरूको टोलीले नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत लैजान सुझाव दिएपछि सरकारले उहाँलाई तत्काल भारत नलग्ने निर्णय गरेको हो।

बिरामीको अवस्था संवेदनशील भएकाले गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्री वालेन्द्र शाहका सचिवालयका सदस्यहरू वीर अस्पतालमै तयारी अवस्थामा  गएराति देखि निरन्तर खटिएका छन् ।

वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीर ५५ प्रतिशत जलेको छ। हाल वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष विशेषज्ञ टोली उहाँको जीवन रक्षाका लागि अनवरत रूपमा खटिएको छ। चिकित्सकहरूको टोलीले उहाँको रक्तचापलाई नियन्त्रणमा राख्न र स्वास्थ्य अवस्थालाई स्थिर बनाउन निरन्तर विशेष औषधिहरू चलाइरहेको छ।

Share.

Comments are closed.

Exit mobile version