काठमाण्डौं । आजको डिजिटल युगमा अनलाइन मिडिया र सामाजिक सञ्जालको पहुँच जति तीव्र गतिमा बढेको छ, त्यसैगरी भ्रमपूर्ण समाचार र सूचनाहरूको जोखिम पनि चुलिँदै गएको छ। सामाजिक सञ्जालका पर्दामा देखिने हरेक सामग्री तथ्यपरक हुँदैनन्। सूचनाको यो अनियन्त्रित भेलमा सत्य र असत्य छुट्याउनु अहिलेका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ।
मुख्यगरी सूचनालाई मोड्न, बङ्ग्याउन वा गलत अर्थ लगाउन चारवटा तरिकाहरू प्रयोग भइरहेका देखिन्छन्।
पहिलो, अन्जानमा फैलिने गलत सूचना (मिसइन्फर्मेसन)। यो त्यस्तो असत्य सूचना हो, जुन फैलाउने व्यक्ति स्वयंलाई पनि यो गलत हो भन्ने थाहा हुँदैन। प्रयोगकर्ताले सत्य नै ठानेर यसलाई शेयर गर्छन्। जस्तै, धेरै वर्ष पुरानो बाढी वा दुर्घटनाको तस्बिरलाई अहिलेको घटना भनेर अन्जानमा पोस्ट गर्नु। यसमा कसैलाई हानि पुर्याउने नियत भने हुँदैन।
दोस्रो, जानाजानी फैलाइने भ्रामक सूचना (डिसइन्फर्मेसन)। सूचना गलत हो भन्ने पूर्ण जानकारी हुँदाहुँदै पनि समाजमा भ्रम सिर्जना गर्न, मानिसहरूको धारणा बदल्न वा निश्चित स्वार्थ पूर्ति गर्न जानाजानी फैलाइने असत्य सामग्री नै भ्रामक सूचना हो। जस्तै, चुनावको समयमा कुनै नेता वा राजनीतिक दलको चरित्र हत्या गर्ने उद्देश्यले नियोजित रूपमा असत्य हल्ला वा भ्रामक भिडियो फैलाउनु।
तेस्रो, सामग्रीको हेरफेर वा तोडमोड (मनिपुलेसन)। सत्य सूचना वा सामग्रीलाई पनि काटछाँट गरेर, सन्दर्भ बदलेर वा सम्पादन गरेर अर्कै अर्थ लाग्ने बनाउने काम सामग्रीको तोडमोड हो। जस्तै, कसैले बोलेको लामो भाषणबाट एक-दुई वाक्य मात्र टुक्र्याएर, प्रसङ्ग नै बदलेर गलत सन्देश प्रवाह गर्नु।
चौथो, नियोजित विचार प्रचार वा प्रोपागान्डा। कुनै निश्चित व्यक्ति, समूह, दल वा विचारको पक्षमा जनमत सिर्जना गर्न योजनाबद्ध रूपमा गरिने प्रचारलाई प्रोपागान्डा भनिन्छ। यसमा झूटै बोल्नुपर्छ भन्ने हुँदैन; सत्य तथ्यलाई पनि आधा मात्र देखाएर (अर्धसत्य), भावनात्मक सन्देश वा डर र आशाको प्रयोग गरेर मानिसको सोच्ने शैलीलाई प्रभावित पारिन्छ।
भ्रमको भेलबाट बच्ने र सचेत रहने उपायहरू
डिजिटल दुनियाँमा भ्रमबाट जोगिन पाठक तथा सामाजिक सञ्जालका प्रयोगकर्ताहरू स्वयं सचेत हुनुपर्छ। कुनै पनि सूचना वा खबरलाई सामाजिक सञ्जालमा शेयर गर्नुअघि वा पत्याउनुअघि केही महत्त्वपूर्ण कुराहरूमा ध्यान दिनु आवश्यक छ।
सबैभन्दा पहिले सूचना कुन वेबसाइट, फेसबुक पेज वा व्यक्तिबाट आएको हो भन्ने कुरा जाँच्नुपर्छ। त्यो आधिकारिक र पत्यारिलो मिडिया हो कि होइन ठम्याउनु आवश्यक छ। त्यसैगरी उक्त समाचार अन्य प्रतिष्ठित र मूलधारका सञ्चारमाध्यमहरूमा आएको छ कि छैन भनेर पुष्टि गर्नुपर्छ। पुराना फोटो र भिडियोलाई नयाँ घटनाको रूपमा प्रस्तुत गरिएको हुन सक्ने भएकाले तस्बिर र भिडियोको वास्तविकता र समय पक्का गर्नुपर्छ।
प्रायः भ्रामक सामग्रीका शीर्षकहरू अत्यधिक आकर्षक वा सनसनीपूर्ण हुने भएकाले शीर्षक मात्र पढेर धारणा नबनाई पूरा समाचार पढ्ने बानी बसाल्नुपर्छ। जसले धेरै आक्रोश, डर, घृणा वा उत्साह पैदा गर्छ, त्यस्ता भावुक र उत्तेजक सामग्रीले मानिसलाई सोच्ने मौका नदिई तत्काल प्रतिक्रिया दिन उकास्ने भएकाले थप सतर्क हुनुपर्छ।
‘पहिले शेयर गरौँ, पछि हेरौँला’ भन्ने सोच एकदमै घातक हुन्छ। जबसम्म सूचना सत्य हो भन्नेमा आफू पूर्ण रूपमा विश्वस्त भइँदैन, तबसम्म त्यसलाई अगाडि बढाउनु हुँदैन। डिजिटल युगमा प्रविधिको सही प्रयोग गर्नु र सूचनाको सत्यता जाँच्न सक्नु नै एक सचेत नागरिकको पहिचान हो। सत्य सूचनाको छनोटले मात्रै समाजलाई सही दिशामा लैजान सहयोग पुर्याउँछ।
