काठमाडौं-सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । बाढी पहिरो र डुबानबाट दुई सयभन्दा धेरैको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोकको घोषणा गर्दै तीन दिन राष्ट्रिय झन्डा झुकाउने निर्णय गरेको प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बैठकपछि जानकारी दिए ।

त्यस्तै सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ अर्ब जम्मा गर्ने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब तथा सेवा सुविधा कोषमा जम्मा गर्ने निर्णय पनि भएको प्रवक्ता गुरुङले जानकारी दिएका छन् । त्यस्तै बैठकले अवरुद्ध भएका सडक तत्काल सञ्चालन गर्नका लागि पहल गर्ने, महंगी तथा कालोबजारी नियन्त्रणमा कडाई गर्ने निर्णय गरेको उनले बताए ।

असोज १० गतेदेखि भएको बर्षका कारण आएको बाढी र पहिरोले अहिलेसम्म २०९ जनाको मृत्यु भएको छ ।

बाढीपहिरोमा परेर ज्यान गुमाएकाका परिवारलाई सरकारले जनही २ लाख रुपैयाँ दिने निर्णय गरेको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्राकृतिक विपद्का कारण १० दिनसम्म बेपत्ता रहेका सदस्यलाई मृतककै रूपमा मानेर परिवारलाई २ लाख दिने निर्णय गरेको हो।

उक्त बैठकले प्राकृतिक विपदका कारण मृत्यु हुनेको परिवारलाई सो राहत रकम दिने निर्णय लिएको हो।

सोमबार दिउँसो ४ बजे अमेरिकाबाट फर्किएका प्रधानमन्त्री ओलीले लगत्तै मन्त्रिपरिषद् बैठक राख्नुभएको थियो ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version