काठमाडौँ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका अनशनरत मेयर तीर्थराज भट्टराईले आमरण अनसन तोडेका छन् । आइतबार शहरी बिकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसँग सहमति भएपछि भट्टराईले आमरण अनसन तोडेका हुन् ।
माइतिघरमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा सहमतिपत्रमा हस्ताक्षर भएको थियो । हस्ताक्षर भएपछि वनमन्त्री शाहीले भट्टराईको अनसन तोडाएका थिए ।
अनसन तोडेपछि भट्टराईले आफुसँग सरकारले गरेको सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।
सहमतिमा बाँस, स्वदेशी काठ वा नेपालमा उत्पादित स्वदेशी वस्तु वा सामग्री खरिद गरि पहिलो चरणमा वनमन्त्रालय अन्तर्गतका सबै निकायमा प्रयोग सुरु गर्ने उल्लेख छ । त्यस्तै वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८० को प्रभावकारी कार्यान्वयन गर्ने, जनधनको क्षतिको राहत वितरणलाई थप सरल, सहज, पारदर्शी बनाउने लगाएत सहमति भएको छ ।
भट्टराईले बाँसलाई बिल्डिङ कोडमा समावेश गरी सरकारी मूल्यांकन गर्न नीति बनाई स्थानीय सामग्री प्रयोग गर्ने गर्नुपर्ने, बाँसको सदुपयोगबाट स्थानीय स्तरमा साना घरेलु उद्योग सञ्चालन गरी विदेश पलायन हुने युवाहरूलाई स्वरोजगार बनाई आयआर्जनको गर्न सकिने भएकाले यसका लागि सरकारले नीति निर्माण र कार्यान्वयन गर्नुपर्ने, बाँसले भू–क्षय नियन्त्रण, वातावरण संरक्षण, जलवायू प्रदुषणको नियन्त्रण, पर्यावरणीय संरक्षण तथा अत्याधिक कार्बन सञ्चिती गर्ने भएकाले यसको संरक्षण र प्रवर्द्धन गर्नु पर्ने लगायत माग राख्दै आमरण अनसन शुरु गरेका थिए ।
भट्टराईले साउन ११ देखि काठमाडौँको माइतीघरमा सत्याग्रह शुरु गरेकोमा सरकारले उनका माग बेवास्ता गरेपछि साउन १४ गते बिहान ९ बजे देखि काठमाडौंस्थित माइतीघर मण्डलामा अनिश्चितकालीन आमरण अनशन शुरु गरेका थिए ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।