एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न सेनाको प्रयोग गर्ने घोषणा गर्नुभएको छ । उहाँले सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गरि सेना प्रयोग गरेर भए पनि आप्रवासीलाई देश निकाला गर्ने योजना बनाएको बताउनुभएको हो ।

वर्तमान राष्ट्रपति जो बाइडेनको कार्यकालमा गैरकानुनी रूपमा आप्रवासीको सङ्ख्या बढेपछि त्यस्ता लाखौँ आप्रवासीलाई देश निकाला गर्ने र मेक्सिकोसँगको सीमालाई व्यवस्थित बनाउने ट्रम्पको योजना रहेको समाचार संस्था एएफपीले जनाएको छ ।

यही नोभेम्बर ५ मा डेमोक्रेटिक उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्प अमेरिकी राष्ट्रपति पदमा पुनः निर्वाचित हुनुभएको थियो । गएको जुलाईमा रिपब्लिकन नेशनल कन्भेन्सनमा उहाँले समर्थकहरू समक्ष अवैध आप्रवासीलाई फिर्ता पठाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

अमेरिकामा झण्डै एक करोड १० लाख मानिस गैरकानुनी रूपमा बसिरहेको र ट्रम्पको योजनाले दुई करोड परिवारमा प्रत्यक्ष असर पर्ने अनुमान छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version