धादिङबेसी, १ साउन । सदरमुकाम धादिङबेसीमा वितरणका लागि ल्याइएको खानेपानीको पाइप फुट्दा धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित भुलभुले र तल्लो भुलभुले क्षेत्र पहिरोको उच्च जोखिममा परेको छ । सदरमुकाममा वितरणका लागि ल्याइएको खानेपानीको पाइप फुट्दा पहिरोको जोखिम बढेको स्थानीयबासीले बताएका छन् । धादिङबेसी खानेपानीको अव्यवस्थित पाइपका कारण जमिन कमजोर भई बस्तीमुनिको भूभाग भासिन थालेको गाउँवासीको भनाइ छ । निरन्तरको वर्षासँगै पाइप फुटेर निस्किएको पानीका कारण जमिन चर्किने, माटो खस्ने र भासिने क्रम बढेपछि सो क्षेत्रका करिब दुई सय घरपरिवार प्रभावित भएका छन् भने विशेष गरी तल्लो भुलभुलेका ४६ घरधुरीका नागरिक कुनै पनि बेला ठूलो दुर्घटना हुन सक्ने उच्च त्रासमा रहेका छन् ।
यसअघि पहिरो नियन्त्रण तथा बाढीको जोखिम न्यूनीकरण गर्न नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा करिब ६५ लाख रुपैयाँको लागतमा सो स्थानमा ग्याबिन वाल निर्माण गरिएको थियो । तर, खानेपानीको पाइपलाई वैज्ञानिक ढंगले व्यवस्थापन नगरिँदा र फुटेको पाइपबाट निरन्तर पानी बगिरहँदा सडकको कुनामा संरक्षणका लागि लगाइएको उक्त ६५ लाखको ग्याबिन जालीसमेत क्षतिग्रस्त भई भासिन थालेको छ । स्थानीयवासीका अनुसार समयमै प्राविधिक रूपमा त्रुटि सच्याएर काम नगरिएका कारण अहिले लाखौंको सरकारी लगानी बालुवामा पानी हालेजस्तै गरी खेर गएको छ । हाल प्रयोग भइरहेको खानेपानीको मुख्य पाइप बस्तीभित्रबाटै लगिएकाले पटक–पटक फुट्ने र पानी जमिनभित्र पसेर माटो बगाउने समस्या देखिएकाले उक्त पाइप तत्काल हटाई व्यवस्थित रूपमा सडकको नालासँगै नयाँ लाइन विस्तार गर्न स्थानीयले माग गरेका छन् ।
यस विषयमा प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले भुलभुले क्षेत्रमा पहिरोको जोखिम बढेको जानकारी प्राप्त भएको पुष्टि गर्नुभयो । प्रजिअ गौतमले जोखिम न्यूनीकरणका लागि नीलकण्ठ नगरपालिका, डिभिजन खानेपानी कार्यालय र धादिङबेसी खानेपानी मूल उपभोक्ता समितिसँग आवश्यक समन्वय भइरहेको बताउनुभयो । पानीका कारण थप क्षति हुन नदिनका लागि तत्कालै कदम चाल्न सम्बन्धित सबै सरोकारवाला पक्षहरूको ध्यानाकर्षण गराइसकेको उहाँले जानकारी दिनुभयो । स्थानीयले पाइप फुटेको कारण पहिरोको जोखिम बढेको जानकारी दिएकाले यस विषयमा प्राविधिक अध्ययन गर्न प्राविधिकसहितको टोलीलाई तुरुन्तै पठाएर खास कारण पहिल्याउन पहल गरिने समेत प्रजिअ गौतमले बताउनुभएको छ ।
भुलभुले क्षेत्रमा गइरहेको पहिरो खसेर तल रहेको अरुङखोला थुनिन सक्ने खतरा समेत उत्तिकै बढेको छ । यदि पहिरोका कारण अरुङखोला थुनिएमा त्यसले तल्लो तटीय क्षेत्रमा ठूलो प्राकृतिक विपद् निम्त्याउन सक्ने भन्दै स्थानीयले गम्भीर चिन्ता व्यक्त गरेका छन् । तल्लो भुलभुलेका स्थानीय बासिन्दाहरूले नीलकण्ठ नगरपालिका, जिल्ला विपद् व्यवस्थापन समिति तथा सम्बन्धित सरोकारवाला निकायलाई तत्काल प्राविधिक टोली खटाएर जोखिमको अध्ययन गर्न र भासिएको क्षेत्रमा ग्याबिन जालीको मर्मत तथा आवश्यक स्थानमा पर्खाल निर्माण गरी बस्ती सुरक्षित बनाउन जोडदार माग गरेका छन् ।
