काठमाडौँ १४ मंसिर २०८१ । सरकारले गोरखाको चुननुब्री र धार्के गाउँपालिकाको क्षेत्रमा ३४१ क्षमताको मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न लगानी स्विकृत गरेको छ । लगानी बोर्डको विहीबार बसेको ६० औँ बोर्ड बैठकले बूढीगण्डकीलगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा सिंहदरबारमा सम्पन्न बैठकले तीन सय ४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत परियोजनाका लागि रु ७० अर्ब, एक सय छ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् परियोजनाका लागि रु २३ अर्ब ५९ करोड र दुई सय १० मेगावाट क्षमताको चैनपुर सेती परियोजनाका लागि रु ४७ अर्ब ५४ करोड लगानी स्वीकृतिको निर्णय गरेको हो ।

बूढीगण्डकी जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन भइसकेको छ। आयोजना पिकिङ रन अफ दि रिभर (पीआरओआर) प्रकृतिको हुनेछ। आयोजना गोरखाको धार्चे-१ र ३ तथा चुमनुब्री-३ मा निर्माण हुनेछ। आयोजनाको बाँधस्थल र जलाशय चुमनुब्री गाउँपालिकामा पर्छ। जुन मनास्लु संरक्षण क्षेत्रको दक्षिणी सुरुवाती भागमा पर्दछ। बाँकी सबै संरचना मनास्लु संरक्षण क्षेत्र बाहिर पर्छन्।

आयोजनाको डिजाइन डस्चार्ज १००.२७ घन मिटर प्रति सेकेण्ड छ। ‍बाँधका कारणले करिब २ किलोमिटर लामो जलाशय बन्नेछ।जसमा १७ लाख ६० हजार घनमिटर पानी भण्डारण हुनेछ।

साढे ६ किलोमिटर लामो सुरुङ मार्ग बनाउन प्रस्ताव गरिएको छ। जुन फगत गाउँबाट सुरु भइ भिन्चेत गाउँमा पुगेर टुंगिन्छ। तातोपानी गाउँ नजिकै बुढीगण्डकी नदीको बायाँ किनारमा भूमिगत विद्युत गृह प्रस्ताव गरिएको छ। जसमा ६०.४३ मेगावाट क्षमताको ६ वटा पेल्टन टर्वाइन रहनेछन्। इन्टर्नल रेट अफ रिटर्न १३.८१ प्रतिशत छ।

साधारण लगानी फिर्ता अवधि व्यावसायिक उत्पादनपछि ५.५४ वर्ष छ। निर्माण थालेको ५ वर्षमा व्यावसायिक उत्पादन गर्न सकिने अध्ययनमा उल्लेख छ।

अध्ययन प्रतिवेदन अनुसार यो आयोजनाको कुल हेड ३९८ मिटर छ। दैनिक ५ घण्टाको दरले पिकिङ हुने गरी पोखरी निर्माण गरिनेछ। आयोजनाले वार्षिक सरदर १८३७.१६ गिगावाट घण्टा बिजुली उत्पादन गर्न सक्छ।
उत्पादित ऊर्जालाई करिब ४५ किलोमिटर प्रसारण लाइन निर्माण गरेर रातमाटे सबस्टेसनमा जोडिनेछ। २०८५ चैतदेखि व्यावसायिक उत्पादनको लक्ष्य राखिएको छ।

यसैगरी बैठकले तीन सय २७ मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी र सम्राट सिमेन्ट कम्पनी  प्रालिको  म्याद थप गरेको छ भने पश्चिम सेती जलविद्युत परियोजनाको क्षमता सात सय ५० मेगावाट बाट बढाएर आठ सय मेगावाट बनाउने गरी म्याद थप तथा चार किल्ला जडित क्षेत्रको अनुमतिपत्र संशोधनको निर्णय गरेको छ । साथै माथिल्लो कर्णाली जलविद्युत आयोजनाको शेयर परिवर्तन र सम्झौतापत्र संशोधनको निर्णय गरिएको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version