काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्स प्लेअफ दौडबाटै बाहिरिएको छ। त्रीवि क्रिकेट मैदान किर्तीपुरमा आज भएको ‘लो स्कोरिङ’ खेलमा काठमाण्डुसँग पराजय व्यहोरेसँगै लुम्बिनी प्लेअफमा नपुग्ने निश्चित भएको हो ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको काठमाण्डुले १०३ रनको सामान्य लक्ष्य खडा गरेको थियो । तर, ब्याटिङका लागि कठिन बनेको पीचमा लुम्बिनी ८५ रनमै अलआउट भयो। काठमाडौंका कप्तान करण केसीले चार विकेट लिए। यद्यपि,पिचले स्पिनरलाई अत्यधिक सहयोग गरेको थियो ।
दुवै टिमका ब्याटरले स्पिन बलरलाई राम्ररी झेल्न सकेका थिएनन्। काठमाडौंका लागि भीम सार्कीले संघर्ष गर्दै सर्वाधिक ३१ रन बनाएका थिए । तर, आठौं नम्बरमा आएर प्रतिक श्रेष्ठले खेलेको केमियो इनिङ खेलमा निर्णायक बन्यो ।
अन्य ब्याटरहरुले प्रति बल रन हान्न पनि संघर्ष गरिरहेको पीचमा उनले १४ बलमा २१ रन जोड्न सफल भए। काठमाडौंले १६ रनले खेल जित्यो । लुम्बिनीका सन्दीप जोराले २९ बलमा सर्वाधिक २६ रन बनाए । तर, करण केसीलाई छक्का हान्न खोज्दा जोरा क्याचआउट भएसँगै लुम्बिनीको सम्भावना समाप्त भयो ।
लुम्बिनीका कप्तान रोहितकुमार पौडेल आज चलेनन् । उनी १५ बल खेल्दै ८ रनमा आउट भए। ओपनर उन्मुक्त चन्दले १४ रन र सुर्य तामाङले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहारो अंकमा रन बनाउन सकेनन् । एनपीएलको पहिलो चरणमा लिग चरणबाट बाहिरिने पहिलो टिम लुम्बिनी बनेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।