गत वर्ष वैदेशिक रोजगारीमा गएकामध्ये विभिन्न कारणले झण्डै १५ सय जनाको मृत्यु भएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त तथ्यङ्क सार्वजनिक गरेको हो ।
सन् २०२३-०२४ मा वैदेशिक रोजगारीमा जाने १ हजार ४९२ जना नेपालीको मृत्यु भएको बताउँदै जिफन्टले त्यसमध्ये ९२ प्रतिशत पुरुष रहेको जानकारी दिएको हो । मृत्यु हुनेमा ११६ महिला र १ हजार ३७६ पुरुष रहेका छन् ।
गत वर्ष (२०२२-०२३ मा) ४५ महिला र १ हजार १६३ पुरुष गरी १ हजार २ सय ८ जनाको मृत्यु भएको थियो ।
अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा जिफन्टले व्यक्तिगत सम्पर्कको माध्यमबाट वैदेशिक रोजगारीका लागि विदेशिने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्दै एजेन्सीमार्फत जान सुझाएको छ । व्यक्तिगत सम्पर्कको माध्यमबाट विदेशिने प्रवृत्ति बढ्नु डरलाग्दो संकेत भएको उसको भनाइ छ ।
यस्तै वैधानिकीकरण गरेका ११ हजार ९०१, पुनः श्रम २ लाख ८१ हजार १९५, पुनः श्रम स्वीकृति लिएको कुल संख्या ७ लाख ४१ हजार २९७, नयाँ श्रम स्वीकृतिको कुल संख्या ४ लाख ६० हजार १०२ रहेको जिफन्टले जनाएको छ।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विनोद श्रेष्ठले विगतमा काम गर्दा खाडी मुलुकमा मात्रै श्रमिकहरू जान्छन् भन्ने मान्यता रहे पनि अहिले युरोपदेखि अमेरिकासम्म काम गर्नका लागि श्रमिकहरू विदेशिने गरेको बताए ।
वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई अनिवार्य रूपमा सामाजिक सुरक्षामा योगदान गर्नुपर्ने व्यवस्थाले गर्दा १३ लाख १ हजार ७८ जना श्रमिक योगदानसहित सूचीकरण भएको जानकारी पनि दिए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियाको लागि इ–७ भिसा प्रोसेस गर्ने भनेर दक्ष कामदार पठाउन निजी क्षेत्रलाई अघि सार्ने कुराको जिफन्टले विरोध गरेको छ ।
जापान, स्पेन, पोर्चुगल, रोमानिया, जर्मनी लगायतका मुलुकमा समेत म्यानपावर कम्पनीमार्फत श्रमिक पठाउने विषयमा जिफन्टको ध्यानाकर्षण भएको र यसमा सरकारले नै जीटुजीमार्फत गर्नुपर्ने उनले बताए ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।