काठमाडौं- नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकताको तयारीले दुबै दलभित्र असन्तुष्टि र तरंग ल्याएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालबीच एकताको खाका तयार भए पनि नाम र चुनाव चिन्ह परिवर्तनको विषयले विवाद बढाएको हो।
माओवादीभित्र ‘माओवादी’ नाम र ‘हँसिया–हथौडा’ चिन्ह छोड्न नहुने मत बलियो बनेको छ। नेताहरूले जनयुद्ध र पहिचानसँग जोडिएको माओवादी ब्रान्ड मेटाउने प्रयास पार्टीको इतिहास र जनभावनाविपरीत हुने चेतावनी दिएका छन्। सचिव दिनानाथ शर्मालगायत नेताहरूले विचार, सिद्धान्त र संगठनबारे छलफल भइरहेको तर निष्कर्षमा नपुगेको बताएका छन्।
उता, नेकपा एसभित्र पनि रडाको मच्चिएको छ। वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत नेताहरूले एकता प्रक्रियालाई हतारिएको र पार्टीभित्र पर्याप्त छलफल नगरी अघि बढाइएको आरोप लगाएका छन्। अध्यक्ष माधव नेपालको जोडमा पोलिटब्युरो र केन्द्रीय समिति बैठकबाट अन्तिम निर्णय लिने तयारी भइरहेको छ।
यता समाजवादी मोर्चाका संयोजक र नेकपा महासचिव विप्लवले कम्युनिस्ट एकताको आवश्यकता औंल्याए पनि तत्काल औपचारिक एकताको पक्षमा छैनन्। उनी नयाँ समाजवादी केन्द्र निर्माणमा बढी ध्यान दिइरहेका छन्।
प्रचण्डले मंसिरमा हुने महाधिवेशनअघि नै एकता टुंग्याउने रणनीति बनाएका छन्। तर, पार्टीभित्र बढ्दो असन्तुष्टि र ‘माओवादी ब्राण्ड’ जोगाउनुपर्ने दबाबबीच एकता प्रक्रिया कति अघि बढ्छ भन्ने विषय अझै अन्योलमै छ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।




