काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपको खेलतालिका सार्वजनिक गरेको छ । दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाको संयुक्त आयोजनामा हुने यो प्रतियोगिता सन् २०२७ को अक्टोबर २ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ । प्रतियोगिताको सुरुवात नामिबियाको राजधानी विन्डहोकमा हुने प्रारम्भिक चरणका खेलबाट हुनेछ भने फाइनल खेल नोभेम्बर २१ मा खेलाइनेछ । तीनवटै देशका १२ वटा मैदानमा हुने यो विश्वकपमा कुल १४ टोलीले ५७ खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
यसपटक विश्वकपको ढाँचामा ठूलो परिवर्तन गरिएको छ । सन् २०२३ को विश्वकपमा १० टोली मात्र सहभागी रहेकोमा २०२७ मा संख्या बढाएर १४ पुर्याइएको छ । सेमिफाइनल र फाइनलअघि प्रतियोगितालाई प्रारम्भिक शृंखला, समूह चरण र सुपर–७ गरी तीन चरणमा विभाजन गरिएको छ । प्रतियोगिताको सुरुवात सबैभन्दा कम वरीयतामा रहेका तीन टोलीबीच हुने प्रारम्भिक शृंखलाबाट हुनेछ, जसमा उनीहरूले एकअर्कासँग एक–एक खेल खेल्नेछन् । यस चरणको विजेता टोली मात्र मुख्य समूह चरणमा प्रवेश गर्नेछ भने बाँकी दुई टोलीको यात्रा त्यहीँ समाप्त हुनेछ । यसरी १४ टोली सहभागी भए पनि मुख्य समूह चरणमा १२ टोली मात्र पुग्नेछन् ।
प्रारम्भिक चरणपछि १२ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ र प्रत्येक समूहमा ६ टोली रहनेछन् । समूहका प्रत्येक टोलीले आफ्नै समूहका अन्य पाँच टोलीसँग एक–एक खेल खेल्नेछन् र यस चरणमा कुल ३० खेल हुनेछन् । दुवै समूहबाट शीर्ष तीन स्थानमा रहने तीन–तीन टोली तथा दुवै समूहमा चौथो स्थानमा रहने टोलीमध्ये तुलनात्मक रूपमा राम्रो प्रदर्शन गर्ने एक टोली गरी कुल सात टोली सुपर–७ चरणमा पुग्नेछन् । यस चरणमा पुगेका सातै टोलीले एकअर्कासँग एक–एक खेल खेल्नेछन् र कुल २१ खेल हुनेछन् । अंक तालिकाको शीर्ष चार स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्, जहाँ पहिलोले चौथो र दोस्रोले तेस्रो स्थानसँग खेल्नेछन् र विजेताहरूबीच फाइनल हुनेछ ।
सन् २०२७ को विश्वकप २४ वर्षपछि अफ्रिकामा फर्किन लागेको हो । दक्षिण अफ्रिका र जिम्बाब्वेले यसअघि सन् २००३ को विश्वकप संयुक्त रूपमा आयोजना गरेका थिए भने नामिबियाले पहिलोपटक पुरुष वरिष्ठ विश्वकपको आयोजकको भूमिका पाउनेछ । खेलतालिका सार्वजनिक भएसँगै प्रशंसकले अक्टोबर १ देखि टिकट छनोट प्रक्रियाका लागि दर्ता गर्न सक्नेछन्, जुन पहिलो आउनेले पहिले पाउने आधारमा हुनेछैन र आवेदन दिँदैमा टिकट सुनिश्चित पनि हुँदैन । आयोजक दक्षिण अफ्रिका र जिम्बाब्वे स्वतः छनोट भएका छन् भने भारत, अस्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशले पनि स्थान पक्का गरिसकेका छन् । बाँकी चार स्थान अर्को वर्षको सुरुवातमा हुने विश्वकप क्वालिफायरबाट तय हुनेछन्, जसमा वेस्ट इन्डिजले पनि प्रतिस्पर्धा गर्नेछ ।






