काठमाण्डौ-नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद भुक्तान गरिरहेका नेकपा (एमाले) का नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी यही कात्तिक २६ गते डिल्लीबजार कारागारबाट रिहा हुने भएका छन्। उमेर ६५ वर्ष पुगेका कैदीबन्दीले पाउने कानुनी सुविधा माग गर्दै रायमाझीका तर्फबाट कात्तिक १२ गते जिल्ला अदालत काठमाडौँमा ‘ज्येष्ठ नागरिकको सुविधा पाउँ’ भन्ने निवेदन दर्ता गरिएको थियो। उक्त निवेदनमाथि कात्तिक १३ गते सुनुवाइ गर्दै जिल्ला अदालतका न्यायाधीश राजेन्द्र सिंह भण्डारीको इजलासले मागबमोजिमको सुविधा उपलब्ध गराउन आदेश दिएको हो।
ज्येष्ठ नागरिक सम्बन्धी ऐन तथा कारागार सम्बन्धी कानुनमा उमेरका आधारमा कैदीलाई विशेष कैद छुटको व्यवस्था छ। कानुनी प्रावधानअनुसार ६५ वर्ष पूरा भई ७० वर्ष ननाघेका कैदीले २५ प्रतिशतसम्म, ७० वर्ष पूरा भई ७५ वर्ष ननाघेका कैदीले ५० प्रतिशत र ७५ वर्षभन्दा बढी उमेरका कैदीले ७५ प्रतिशतसम्म कैद छुट पाउने व्यवस्था छ। सोही आधारमा रायमाझीलाई कैद छुट दिने आदेश भएको हो। आगामी कात्तिक २६ गते ६५ वर्ष पूरा हुने रायमाझीले कुल सजायको २५ प्रतिशत अर्थात् एक वर्षसम्म छुट पाउन सक्ने भए पनि उनको भुक्तान हुन बाँकी कैद ६ महिना मात्रै रहेकाले सोही अवधि छुट दिइएको हो। अदालतको आदेश प्राप्त भएसँगै उनी कात्तिक २६ गते नै थुनामुक्त हुने भएका छन्। डिल्लीबजार कारागारका जेलर विक्रम पाण्डेका अनुसार अदालतले कैद छुटको पत्र सोमबार नै कारागार प्रशासनमा पठाइसकेको छ।
प्रहरीले रायमाझीलाई २०८० वैशाख ३१ गते राति पक्राउ गरेको थियो। त्यतिबेला उनी प्रतिनिधि सभा सदस्य थिए। २०८० असार १ गते जिल्ला अदालत काठमाडौँले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो भने मंसिर १५ गते उच्च अदालत पाटनले पनि सोही आदेश सदर गरेको थियो। मुद्दा सर्वोच्च अदालतसम्म पुग्दा पनि उनी रिहा भएका थिएनन्।
गत असार ३० गते अदालतले तीनवटा कसुरमा दोषी ठहर गर्दै सजाय तोकेको थियो। जसमा ठगीमा २ वर्ष कैद र २० हजार जरिवाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिवाना तथा राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिवाना तोकिएको थियो। एकीकृत कसुरअन्तर्गत सबै सजाय जोडेर कुल चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तय भएको थियो। २०८० वैशाखदेखि थुनामा रहेका उनको कैद भुक्तान सामान्य अवस्थामा २०८४ वैशाखमा मात्रै पूरा हुन्थ्यो।
रायमाझी सुरुमा केन्द्रीय कारागार सुन्धारामा थिए। त्यस क्रममा जेनजी आन्दोलनका बेला कारागारबाट धेरै कैदीबन्दी भाग्दा उनी पनि बाहिर निस्किएका थिए। तर, उनले कारागार प्रशासनलाई जानकारी गराएको र सूचना जारी हुनासाथ स्वयं उपस्थित भएका कारण उनलाई थप कैद तोकिएन र सो बीचको अवधिलाई पनि कैद भुक्तानमै गणना गरिएको थियो। कैद भुक्तानपछि डिल्लीबजार कारागारबाट छुट्न लागेका रायमाझी र अन्य पक्षलाई जिल्ला अदालतको फैसला चित्त नबुझे उच्च अदालतमा पुनरावेदन गर्ने विकल्प भने अझै खुला छ।






