काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा) का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता हुने भएको छ। महान्यायाधिवक्ता सविता भण्डारीले रविले दिएको निवेदन अनुसार यी दुई कसुरमा मुद्दा फिर्ता गर्ने निर्णय गरेकी छन्। यस निर्णयसँगै रवि लामिछानेविरुद्ध अब सहकारी ठगीको मात्रै मुद्दा कायम रहने भएको छ।
रवि लामिछानेविरुद्धको मुद्दा पहिलो पटक २०८१ असोज १८ मा कास्की जिल्ला अदालतमा दर्ता भएको थियो। यसमा सूर्यदर्शन सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोप समावेश थियो। यसअघि यही सहकारी ठगीका अन्य अभियुक्तहरूलाई मात्र मुद्दा चलेको थियो, तर उनीहरूमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोप थिएन। रविलाई यी आरोप थपिएपछि पुरक अभियोगमा अन्य प्रतिवादीलाई पनि समावेश गरिएको थियो। उनी कास्की जिल्ला अदालतबाट धरौटीमा रिहा भएका थिए।
त्यसपछि क्रमशः २०८१ पुस २१ मा स्वर्णलक्ष्मी सहकारी ठगीमा अभियोग दर्ता गरिएको थियो। २०८१ वैशाख ३ मा रुपन्देही जिल्ला अदालतमा सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताको रकम अपचलनको आरोपमा अभियोग दर्ता गरिएको थियो र वैशाख ६ मा अभियोगपत्रमा संगठित अपराध सम्बन्धी कसुर थप गरिएको थियो। २०८० असोज २३ मा पर्सा जिल्ला अदालतमा सानो पाइला बचत तथा ऋण सहकारी ठगीमा अभियोग दर्ता भएको थियो भने २०८० फागुन २ मा संगठित अपराध सम्बन्धी आरोप थप गरी थप अभियोगपत्र दर्ता गरिएको थियो। यी सबै मामिलामा रविसहित सहकारीको सञ्चालक समिति वा सदस्य नभएका व्यक्तिहरूलाई पनि प्रतिवादी बनाइएको थियो।
महान्यायाधिवक्ताले स्पष्ट पारेकी छन् कि रवि लामिछानेविरुद्धको मुद्दामा लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोग हटाइनेछ र अदालतले केवल सहकारी ठगी सम्बन्धी अभियोग कायम राख्नेछ।
महान्यायाधिवक्ताको निर्णयसँगै रवि लामिछाने अब सांसद, मन्त्री र दलको नेता बन्न सक्ने अवस्थामा पुगेका छन्। यसअघि सम्पत्ति शुद्धीकरणको मुद्दाका कारण उनी सांसद्बाट नलम्बित भएका थिए। यही कारणले सांसद निर्वाचित भए पनि तत्काल पद ग्रहण गर्न सकिरहेका थिएनन्।
रवि र काठमाडौं महानगरका मेयर बालेन शाहबीच पुस १३ मा भएको सात बुँदे सहमतिमा भनिएको थियो कि आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता र भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह हुने। तर रवि सांसद, दलको नेता र मन्त्री बन्ने भएपछि यो सहमति प्रभावित हुने देखिन्छ। राजनीतिक समीक्षकहरूले भनेका छन् कि अब पार्टीको नेतृत्व र आगामी निर्वाचन रणनीतिमा महत्वपूर्ण फेरबदल हुन सक्नेछ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।




