भक्तपुर, ९ मंसिर । काठमाडौंका नदी किनारबाट हटाइएका सुकुम्वासी परिवारलाई अस्थायी रूपमा राखिएको होल्डिङ सेन्टर खाली गर्न सरकारले निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले बुधबार सार्वजनिक सूचना जारी गर्दै मध्यपुर थिमी नगरपालिका–८, बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा आश्रय लिइरहेका १९ परिवारलाई दुई दिनभित्र स्थान खाली गर्न भनेको हो ।
प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काद्वारा जारी सूचनामा आगामी शुक्रबार (मंसिर ११ गते) दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गरिसक्न अल्टिमेटम दिइएको छ । सूचनामा भूमिहीन नठहरिएका र हालसम्म जग्गा नदेखिएका सम्पूर्ण व्यक्तिलाई तोकिएको समयसीमाभित्र होल्डिङ सेन्टर छाड्न सूचित गरिएको उल्लेख छ ।
भूमि समस्या समाधान समिति, काठमाडौँको मंसिर ९ गतेको पत्र तथा भूमि व्यवस्थापन तथा अभिलेख विभाग र स्थानीय पालिकाबाट प्राप्त विवरणका आधारमा प्रशासनले १९ परिवारको अवस्था वर्गीकरण गरेको हो । छानबिनका क्रममा होल्डिङ सेन्टरमा बसोबास गरिरहेका १९ परिवारमध्ये ७ परिवारको पुर्ख्यौली थलोमा घरमूली वा परिवारका सदस्यको नाममा जग्गा रहेको प्रमाणित भएको छ । नाममा जग्गा देखिएपछि उनीहरू भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५२(क) र ५२(ख) बमोजिम कानुनी रूपमा भूमिहीन नठहरिएको प्रशासनले स्पष्ट पारेको छ ।
यसैगरी, बाँकी १२ परिवारको नाममा भने अभिलेखमा कतै जग्गा नदेखिएको प्रशासनले जनाएको छ । जग्गा नदेखिएका १२ परिवारलाई सम्बन्धित स्थानीय पालिकामार्फत जग्गा उपलब्ध गराउने प्रयोजनका लागि प्रक्रिया अघि बढाइएको र त्यससम्बन्धी ‘निस्सा’ समेत प्राप्त भइसकेको सूचनामा उल्लेख छ । प्रशासनले जग्गा नदेखिएका ती १२ परिवारलाई सम्बन्धित निकायबाट प्राप्त निस्सा बुझ्न र तत्कालको बसोबास व्यवस्थापनका लागि नेपाल सरकारले घरभाडास्वरूप उपलब्ध गराउने गरी तोकेको सुविधा बुझिलिनसमेत अनुरोध गरेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा गत वैशाख १२ गतेदेखि काठमाडौंका नदी किनारका सुकुम्वासी बस्ती हटाइएको थियो । बस्ती हटाइएपछि विस्थापित भएका परिवारलाई तीन महिनाभित्र स्थायी वा वैकल्पिक बसोबासको व्यवस्था गर्ने आश्वासनसहित विभिन्न होल्डिङ सेन्टरमा राखिएको थियो । तर, विस्थापित भएको लामो समय बितिसक्दा पनि स्थायी बसोबासको टुङ्गो नलाग्दै सरकारले घरभाडा र निस्साको प्रक्रिया अघि सारेर होल्डिङ सेन्टर खाली गराउन लागेको हो ।






