काठमाडौँ । नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशका हिमाली तथा पहाडी क्षेत्रमा बादल लागेको छ भने तराईका केही स्थानमा तुवाँलो देखिएको छ।
हाल कर्णाली प्रदेशसहित देशका अन्य हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ। पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा तुवाँलो लागेको विभागले जनाएको छ। अन्य क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको छ।
सोमबार दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। देशका बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।
त्यस्तै, कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र गण्डकी प्रदेशको हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।






