हङकङ। नेपाली हिमाल, सगरमाथाको गौरव, शेर्पा समुदायको साहस र जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभावलाई समेटिएको नेपाली वृत्तचित्र ‘रोड टु एभरेष्ट’को विशेष प्रदर्शन हङकङमा सम्पन्न भएको छ। ‘सगरमाथालाई अनुभव गरौँ, रसुवालाई सहयोग गरौँ’ भन्ने नारासहित गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आइतबार वृत्तचित्र प्रदर्शन गरिएको हो।
हङकङको हुङ होमस्थित सनबिम वाम्पो सिनेमा हलमा आयोजित प्रदर्शनमा नेपालीसहित विभिन्न देशका दर्शकको उत्साहजनक सहभागिता रहेको थियो। नेपाली हिमाली सभ्यता, प्राकृतिक सम्पदा र पर्वतारोहणको कथा अन्तर्राष्ट्रिय समुदायमाझ पुर्याउनुका साथै रसुवामा आएको बाढीपहिरोबाट प्रभावित तथा विस्थापित परिवारको पुनर्निर्माण र पुनर्स्थापनाका लागि सहयोग जुटाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रदर्शनमा हङकङमा बसोबास गर्ने नेपाली तथा भारतीय समुदायका साथै चिनियाँ, बेलायती, फिलिपिनो, थाइल्यान्ड, इन्डोनेसियालगायत विभिन्न देशका दर्शक सहभागी भएका थिए। उनीहरूले वृत्तचित्रमा प्रस्तुत सगरमाथाको यात्रा, आकर्षक दृश्य, विषयवस्तु र जलवायु परिवर्तनसम्बन्धी सन्देशको प्रशंसा गरेका थिए।
यसअघि आयोजित ग्रान्ड प्रिमियरमा दर्शकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएपछि थप दर्शकको मागलाई ध्यानमा राख्दै विशेष प्रदर्शन आयोजना गरिएको एनआरएनए हङकङले जनाएको छ। कार्यक्रमले नेपाली चलचित्र तथा वृत्तचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धनसँगै विपद् प्रभावित समुदायप्रतिको मानवीय सहयोग र सामाजिक उत्तरदायित्वको सन्देशसमेत दिएको छ।
प्रदर्शन संयोजक तथा एनआरएनए हङकङकी उपाध्यक्ष कविता गुरुङले पहिलो प्रदर्शनमा सहभागी हुन नसकेका दर्शकलाई वृत्तचित्र हेर्ने अवसर प्रदान गर्नुका साथै नेपाली हिमाली कथालाई विभिन्न समुदायसम्म पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन्।
एनआरएनए हङकङकी अध्यक्ष अनु राईले ‘रोड टु एभरेष्ट’ सगरमाथा आरोहणको कथा मात्र नभई शेर्पा समुदायको योगदान, साहस, संघर्ष र विश्वासको कथा पनि भएको बताइन्। वृत्तचित्रले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिँदै गएको असरलाई समेत उजागर गरेको उल्लेख गर्दै उनले नेपाली समुदायलाई प्रदर्शनमा सहभागी भई रसुवाका विपद् प्रभावित परिवारलाई सहयोग गर्ने अभियानमा साथ दिएकोमा धन्यवाद व्यक्त गरिन्।
त्यसैगरी एनआरएनए हङकङका महासचिव इन्द्र पुनले नेपालीले आफ्नै लगानी र सीमित स्रोतसाधनका बाबजुद आफ्नै कथा आफैँ भन्ने प्रयास गर्नु महत्त्वपूर्ण भएको बताए। यस्ता सिर्जनात्मक प्रयासलाई सबैले प्रोत्साहन र सहयोग गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा वी विल राइज फाउन्डेसनका अध्यक्ष तुलसी कुमार गुरुङ, वृत्तचित्रका प्रमुख पात्र राज गुरुङ तथा विनोद गुरुङको समेत उपस्थिति रहेको थियो। उनीहरूको सहभागिताले प्रदर्शनलाई थप अर्थपूर्ण बनाएको आयोजकले जनाएको छ।
करिब ५० मिनेट लामो वृत्तचित्रले समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्मको यात्रालाई दृश्यात्मक रूपमा प्रस्तुत गरेको छ। यसमा पर्वतारोहणका कठिन चुनौती, मानवीय साहस, शेर्पा समुदायको अतुलनीय योगदान, नेपालको हिमाली सम्पदा र जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका वातावरणीय असरलाई समेटिएको छ।
वी विल राइज फाउन्डेसनद्वारा निर्मित यस वृत्तचित्रको निर्देशन निर्मल श्रेष्ठले गरेका हुन्। यसको कथा सञ्चारकर्मी सन्तोष आचार्य र निर्मल श्रेष्ठले संयुक्त रूपमा लेखेका हुन्। नेपाली र अंग्रेजी दुवै भाषामा तयार पारिएको वृत्तचित्र पूर्ण नेपाली प्राविधिक तथा निर्माण टोलीको सहभागितामा निर्माण गरिएको हो।
नेपाली हिमालको प्राकृतिक सौन्दर्य, संस्कृति, साहस र मानवीय संवेदनालाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने उद्देश्यसहित ‘रोड टु एभरेष्ट’लाई विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सव तथा विशेष प्रदर्शनमार्फत विश्वभरका दर्शकमाझ लैजाने अभियान जारी रहेको निर्माण पक्षले जनाएको छ।
फोटो : स्वदेश महर्जन






