काठमाडौं । जापान पठाउने भन्दै सय जनाभन्दा बढीबाट २ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक शैक्षिक परामर्शदाता कम्पनीका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको ग्याट्सबाई इन्टरनेशनल प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रतीक बुढाथोकी छन् ।
ललितपुरको महालक्ष्मी–७ चाङाथलीका २९ वर्षीय बुढाथोकीलाई प्रहरीले बुटवलबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो । उनलाई वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बुढाथोकीले आफ्नो कन्सल्टेन्सीमार्फत जापान पठाइदिने भन्दै १ सय १५ जनाबाट कुल २ करोड ८० लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको भन्दै उजुरी परेको थियो । बुढाथोकीमाथि वैदेशिक रोजगारसम्बन्धी ठगीको कसुरमा मुद्दा चलाउन आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।






