नुवाकोट । भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नागरिकका समस्या समाधान, उचित क्षतिपूर्ति र पुनर्स्थापनाका लागि पहल गर्न सूर्य कँडेलको संयोजकत्वमा ३३ सदस्यीय भोटेकोशी–त्रिशूली बाढीपीडित सरोकार समिति, नुवाकोट गठन गरिएको छ।
गठित समितिको संयोजकमा सूर्य कँडेल चयन हुनुभएको छ। सहसंयोजकमा सुरेन्द्र राज केसी, रामहरि अधिकारी र अष्टमान डंगोल चयन हुनुभएको छ। त्यसैगरी, सचिवमा नवीन्द्रमान प्रधान, सहसचिवमा किरण प्रसाद अधिकारी र कोषाध्यक्षमा शम्भु सिग्देल चयन हुनुभएको छ।
बाढीपीडित नागरिकले भोग्दै आएका समस्या पहिचान गरी समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने समितिको उद्देश्य छ। बाढीबाट प्रभावित नागरिकका जायज मागलाई प्रभावकारी रूपमा उठाउने, राहत तथा क्षतिपूर्तिका लागि पहल गर्ने र पीडितको पुनर्स्थापनाका विषयलाई प्राथमिकताका साथ अघि बढाउने समितिले लक्ष्य लिएको छ।
समितिले बाढीपीडितका समस्या समाधानका लागि सरकारी निकाय, स्थानीय तह तथा अन्य सरोकारवालासँग समन्वय र सहकार्य गर्ने जनाएको छ। बाढीबाट प्रभावित नागरिकलाई न्याय दिलाउन र उनीहरूका जायज माग सम्बोधन गराउन सामूहिक रूपमा आवाज उठाउने अपेक्षा गरिएको छ।
३३ सदस्यीय समिति गठनसँगै भोटेकोशी–त्रिशूली बाढीपीडितका समस्या समाधान, उचित क्षतिपूर्ति र पुनर्स्थापनाका लागि संगठित पहल अघि बढ्ने विश्वास लिइएको छ।






