अमेरिका । नयाँ वर्ष नेपाल संवत् ११४७ को अवसरमा अमेरिकाको कोलोराडोस्थित नेवाः खलःले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउने एक संस्था र एक व्यक्तित्वलाई सम्मान गर्ने भएको छ।
नेवाः खलः कोलोराडोले अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टर र पूर्वप्राध्यापक, साहित्यकार तथा समाजसेवी डा. विजयराज शर्मालाई दुई छुट्टाछुट्टै पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
संस्थाले आगामी नोभेम्बर १४ तारिख शनिबार नेपाली सांस्कृतिक केन्द्र ‘नेपाली घर’मा आयोजना गर्ने नेपाल संवत् ११४७ को न्हूदँया भिन्तुना कार्यक्रममा पुरस्कार वितरण गर्ने जनाएको छ।
यस वर्ष अनेसास कोलोराडो च्याप्टरलाई ‘कोलोराडो नेवाः खलः शंखधर साख्वा सिरपा–११४६’ प्रदान गरिनेछ भने डा. विजयराज शर्मालाई ‘कोलोराडो नेवाः खलः शताब्दी पुरुष सत्यमोहन जोशी सिरपा–११४६’ बाट सम्मान गरिनेछ।
प्रवासमा नेपाली भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर क्रियाशील रहेको अनेसास कोलोराडो च्याप्टरले यस वर्ष कोलोराडोमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन आयोजना गरी कोलोराडोको पहिचान विश्वभरका नेपाली समुदायमाझ पुर्याउन योगदान गरेको भन्दै संस्थालाई शंखधर साख्वा सिरपा प्रदान गर्न लागिएको नेवाः खलःले जनाएको छ।
नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको नाममा स्थापित यो पुरस्कार नेपाली भाषा, साहित्य र सांस्कृतिक पहिचानको संरक्षणमा उल्लेखनीय योगदान पुर्याउने कोलोराडोस्थित नेपाली संघसंस्थामध्ये उत्कृष्ट संस्थालाई प्रदान गरिँदै आएको छ।
त्यसैगरी, पूर्वप्राध्यापक, साहित्यकार तथा समाजसेवी डा. विजयराज शर्मालाई नेपाली भाषा, साहित्य र कलाको संरक्षण तथा विकासमा पुर्याएको योगदानको कदर गर्दै शताब्दी पुरुष सत्यमोहन जोशी सिरपा प्रदान गर्न लागिएको हो।
लामो समयदेखि कोलोराडोमा बसोबास गर्दै आउनुभएका डा. शर्मा अध्ययन तथा अध्यापनपछि अवकाश जीवन बिताउँदै नेपालीभाषी समुदायको पहिचान र विकासका लागि विभिन्न संघसंस्थामार्फत सक्रिय रहँदै आउनुभएको छ। उहाँले लेख, रचना तथा विभिन्न अभिव्यक्तिमार्फत नेपाली भाषा, साहित्य र कलाको संरक्षणमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गर्न लागिएको नेवाः खलः कोलोराडोका अध्यक्ष भूषणलाल श्रेष्ठले बताउनुभएको छ।
संस्थाले गत वर्षदेखि यी दुई पुरस्कार प्रदान गर्न सुरु गरेको हो। शताब्दी पुरुष सत्यमोहन जोशी सिरपा कोलोराडोमा भाषा, साहित्य, कला, संगीत र संस्कृतिको संरक्षण तथा विकासमा योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान गरिन्छ। त्यस्तै, शंखधर साख्वा सिरपा कोलोराडोमा रहेका नेपाली संघसंस्थामध्ये नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा उत्कृष्ट योगदान गर्ने संस्थालाई प्रदान गरिँदै आएको छ।
यी पुरस्कार नेपालस्थित राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान र लोक साहित्य परिषद्सँगको आबद्धतामा प्रदान गरिँदै आएको संस्थाले जनाएको छ।
नेवाः खलः कोलोराडोले नेपाल संवत् ११४७ को न्हूदँया भिन्तुना कार्यक्रमसँगै आगामी ११४७ देखि ११४९ कार्यकालका लागि नयाँ कार्यसमिति चयन तथा पदस्थापन कार्यक्रम पनि आयोजना गर्ने भएको छ।
कार्यक्रममा यसअघि आयोजना गरिएको इन्द्रजात्रामा सहभागी कुमारी, गणेश, भैरव, लाखे, झ्यालिंचा, सांस्कृतिक कलाकार तथा स्वयंसेवकहरूलाई सम्मान गरिने महासचिव सञ्जय शाक्यले जानकारी दिनुभएको छ। इन्द्रजात्रा कार्यक्रमलाई सहयोग गर्ने प्लेटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज प्रायोजकहरूलाई पनि सम्मान गरिनेछ।
यसैगरी, कोलोराडोमा विगत २० वर्षदेखि नेपालीभाषी समुदायका विभिन्न संघसंस्थामा सक्रिय योगदान पुर्याउँदै आउनुभएका ९२ वर्षीय रामप्रसाद श्रेष्ठलाई संस्थाको मानार्थ सदस्यता प्रदान गरिने भएको छ।
नेपाल सरकारको उच्च पदमा रहेर राष्ट्रसेवा गर्नुभएका श्रेष्ठ अवकाशपछि कोलोराडोमा बसोबास गर्दै आउनुभएको छ। उहाँले नेपाली समुदायको सामाजिक तथा सांस्कृतिक गतिवि





