धादिङ । धादिङको गल्छी गाउँपालिका–६ महेशदोभानस्थित नागथानमा यात्रुवाहक विद्युतीय हाइस दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ भने नौ जना यात्रु घाइते भएका छन्।
पोखराबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७७९२ नम्बरको हाइस अनियन्त्रित भई सडकबाट करिब तीन मिटर तल कल्भर्टमा खसेको थियो। दुर्घटनाका क्रममा सडक किनारमा हिँडिरहेका स्थानीय ५० वर्षीय सीताराम अधिकारीलाई हाइसले ठक्कर दिँदै च्यापेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीलाई उद्धार गरी उपचारका लागि बैरेनी अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
हाइसमा चालकसहित १० जना सवार रहेकोमा दुर्घटनामा नौ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये लमजुङको मध्यनेपाल नगरपालिका–८ का ३० वर्षीय सजन गुरुङ, सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ का ३१ वर्षीय चन्द्र नाछिरिङ राई, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–४ का २७ वर्षीय नवराज चौलागाईं र २३ वर्षीय युवराज पौडेल, सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ का २९ वर्षीय भरत राई तथा भोजपुरको रामप्रसाद राई गाउँपालिका–१ का २३ वर्षीय सुरेन्द्र तामाङको बैरेनी अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै, कास्कीको पोखरा महानगरपालिका–३१ की तिला नेपाली, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–४ की ३३ वर्षीया सुनिता राई र कास्कीको मादी गाउँपालिका–११ का ३९ वर्षीय राजकुमार ढकाललाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ।
दुर्घटनापछि हाइस चालकलाई प्रहरी चौकी बैरेनीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।






