काठमाडौँ – बारा र पर्साका स्थानीय तहले चिसो बढेसँगै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरेका छन्।

पर्साको वीरगन्ज महानगरपालिकासहित १२ वटा पालिकाले विद्यालयहरूमा जाडो बिदा दिएका हुन्। बाराका दुई पालिकाले पनि बिदा दिएका छन्।

बाराको सुवर्ण गाउँपालिका र करैयामाई गाउँपालिकाले जाडो बिदा दिएको सूचनामा उल्लेख छ। करैयामाई गाउँपालिकाको निर्णयअनुसार तीन दिनका लागि शैक्षिक संस्था बन्द रहने भएको छ।

चिसो बढेका कारण विद्यालयमा पठन पाठनमा समस्या भएको भन्दै शिक्षक र अभिभावकहरूबाट गुनासो आएपछि गाउँपालिकाले पठनपाठन बन्द गर्ने निर्णय गरेको करैयामाई गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ।

अत्यधिक चिसोले सुवर्ण गाउँपालिकाले २६ गते सम्म विद्यालयहरूमा बिदा दिएको सूचनामा उल्लेख छ। पर्साको वीरगगञ्ज महानगरपालिकाले विद्यालयहरूमा तीन दिनका लागि जाडो बिदा दिएको जनाएको छ।

केही दिनदेखि बढेको चिसो र बाक्लो हुस्सुको कारण जनजीवन प्रभावित हुन थालेपछि स्थानीय तहले बालबालिकाको स्वास्थ्यको ख्याल गर्दै बर्से बिदाबाट कट्टा हुने गरी जाडो बिदा दिइएको उल्लेख गरेका छन्।

Share.

Comments are closed.

Exit mobile version