काठमाडौं । पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य मन्त्रालयले सञ्चालन गरेको एचपीभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन् । अभियानको १२ औं दिन शनिबारसम्म उल्लिखित परिमाणमा किशोरीहरुले खोप प्राप्त गरेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले जानकारी दिए ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले हालसम्म अभियानलाई सफल पार्न खट्ने सबै स्वास्थ्यकर्मीहरु, स्वयंसेवक, सहयोगी विद्यालय लगायत सबै सहयात्रीहरुलाई अनवरत मेहनतका लागि भन्दै धन्यवाद ज्ञापन गरेका छन् । माघ २२ गते सुरु भएको अभियान फागुन ६ गतेसम्म चल्नेछ ।

अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र १० देखि १४ वर्षका किशोरीहरुलाई स्थानीय तहमा रहेका केन्द्रहरुमार्फत खोप प्रदान गरिएको छ । अबको अवधिमा छुटेकाको पहिचान गरी खोप प्रदान गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । अभियानका क्रममा करिब १७ लाख किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ ।

मन्त्री पौडेलले पदभार सम्हालेपछि पहिलो निर्णय राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति स्वीकृत गरेका थिए । त्यसयता क्यान्सरको उपचार सातै प्रदेशमा पुर्याउने निर्णय कार्यान्वयनमा आइसकेको छ । क्यान्सरविरुद्ध निरोधात्मक विधि प्रवद्र्धन गर्ने मन्त्री पौडेलले घोषणा गरेको योजना तथा प्राथमिकतामा उल्लेख छ । सोही अनुसार किशोरीहरुलाई खोप दिने कार्यक्रम अघि बढाइएको प्रवक्ता बुढाथोकीले बताए ।

नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण ज्यान जाने महिलाहरुको संख्या उच्च छ । सानै उमेरमा खोप प्रदान गरेर यो समस्या कम गर्ने योजनाअनुसार निरोधात्मक विधिअन्र्तगतका कार्यक्रमसमेत अघि बढिरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version