अष्ट्रेलिया- अष्ट्रेलियामा रहेर पत्रकारिता गरिरहेका नेपाली पत्रकारहरुको संगठन अष्ट्रेलियन नेप्लिज जर्नालिष्ट एशोसिएशन (एञ्जा)को तेस्रो अधिवेशन सम्पन्न भएको छ। अष्ट्रेलियाको राजधानी क्यानबेरामा फेब्रुअरी २१ र २२ मा सम्पन्न अधिवेशनबाट अध्यक्षमा कृष्ण तिवारी निर्वाचित भएका छन्।
४३ जना मताधिकार सदस्य रहेको एञ्जाको निर्वाचनमा तिवारीले २५ मत प्राप्त गर्दै जित निकालेका हुन्। उनका प्रतिस्पर्धी नारायण खड्काले १८ मत पाए। उपाध्यक्षमा माधव प्रसाद गैरे २२ मत ल्याउँदै निर्वाचित भए। प्रकाश हुमागाईंले १९ मत र सीता कुमारी विश्वकर्माले २ मत प्राप्त गरे।
सदस्य पदमा सरल गुरुङ (४० मत), विनायक अधिकारी (३४ मत), गोपाल छन्त्याल (३३ मत) र केदार रायमाझी (२७ मत) निर्वाचित भएका छन्। महासचिवमा गणेश भट्ट, कोषाध्यक्षमा खगेन्द्र सत्याल र सचिवमा तक्दिर अधिकारी सर्वसम्मत निर्वाचित भएका छन्।
संघका संस्थापक तथा संरक्षक हेमन्त काफ्लेले एञ्जाको निर्वाचन परिणामप्रति खुसी व्यक्त गर्दै यसले संस्थालाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे। ‘प्रजातान्त्रिक पद्धति अपनाएर गरिएको निर्वाचनको नतिजा स्वागतयोग्य छ। नयाँ नेतृत्वले संस्थालाई थप सशक्त बनाउँदै समुदायको हितमा प्रभावकारी काम गर्नेछ भन्ने आशा लिएको छु,’ काफ्लेले भने।
निर्वाचित पदाधिकारीहरूलाई विशिष्ट अतिथि तथा अतिथिहरूले सफल कार्यकालको शुभकामना दिँदै प्रवासमा रहेर सामुदायिक पत्रकारिता गरिरहेका पत्रकारहरूको प्रशंसा गरेका थिए।
नेपालकी अष्ट्रेलियाका लागि राजदूत चित्रालेखा यादव, एनआरएनए अध्यक्ष अनिल पोखरेल, एनआरएनए क्षेत्रीय संयोजक दिनेश पोखरेल, तराई समाज अष्ट्रेलियाका अध्यक्ष रञ्जित शाह, नारी निकुञ्जकी राष्ट्रिय संयोजक सङ्गीता चापागाईं लगायतका व्यक्तित्वहरूले पत्रकारिताको उच्च एथिक्स पालना गर्दै काम गर्न सुझाव दिएका थिए।
एनआरएनए अध्यक्ष अनिल पोखरेलले पत्रकारिता मर्यादित रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिँदै अहोरात्र निस्वार्थ रूपमा सञ्चार कर्म गरिरहेका पत्रकारहरूलाई धन्यवाद दिए।
अष्ट्रेलियामा लामो समयदेखि पत्रकारिता गर्दै आएका सरल गुरुङलाई ‘स्वर्गीय टिका कार्की सक्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ। नेपाल ट्युबका सम्पादक गुरुङ प्रवासी नेपाली समुदायका गतिविधि र कथाहरू निरन्तर सम्प्रेषण गर्दै आएका छन्।
पुरस्कार ग्रहण गर्दा सरल गुरुङ निकै भावुक बने। ‘यो माया र सम्मानले मलाई गर्वान्वित बनाएको छ,’ उनले भने, ‘स्वदेश तथा प्रवासका कथाहरू समेट्दै पत्रकारिता गर्ने प्रेरणा अझ बढेको छ।’
स्व. टिका कार्कीको सम्झनामा स्थापित पुरस्कारको राशि एक हजार एक अष्ट्रेलियन डलर रहेको छ। पुरस्कार छनोटका लागि लेखिका एवम् सामाजिक अभियन्ता प्रतिज्ञा अधिकारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।