काठमाडौं । सिंहदरबारमा आगजनी गर्न हुललाई उक्साएको आरोपमा कारवाहीका लागि अनेरास्ववियुले प्रहरीमा उजुरी दिएपछि काठमाडौं महानगर प्रमुख बालेन शाहले सामाजिक सञ्जाल मार्फत स्पष्टीकरण दिएका छन् ।
प्रमुख बालेनका अनुसार भदौ २४ गतेको दिन देशभर अराजकता भएको र आन्दोलनकारीको अवरोधका कारण दमकल सिंहदरबार पुग्न ढिलो भएको हो । उनले भने, “सिंहदरबार जलाउने नै बालेन शाह हो भन्ने आरोप तथ्यहीन छन्, भिडको कारणले आगजनी भएको ठाउँसम्म दमकल प्रवेश गर्न सकेन ।”
बालेनका अनुसार सो दिन देशभर आगलागी, तोडफोड र अराजक अवस्था सिर्जना भएको थियो । सरकार, प्रहरी र सुरक्षासंयन्त्र निष्क्रिय अवस्थामा हुँदा काठमाडौं महानगरको टिमले निरन्तर आगो निभाउने, घाइतेको उपचार, औषधि र रगत व्यवस्थापन, खाना र लजिस्टिक आपूर्ति लगायतका काम गरेको उनले दावी गरेका छन् ।
बालेनले सामाजिक सञ्जालमा लेखेअनुसार काठमाडौं महानगरसँग हाल पाँच वटा दमकल सञ्चालनमा छन्- दुई न्युरोडमा, दुई बालाजुमा र एक रामहिटीमा । १४ नगर प्रहरी र ३० जना सशस्त्र प्रहरीसहित ४४ जनाको टिम तीन शिफ्टमा कार्यरत रहेको र आन्दोलनका दिनहरूमा ५५ पटकभन्दा बढी विभिन्न स्थानमा दमकल परिचालन भएको उनको दावी छ ।
“सिंहदरबारमा आगलागी भएको दिन हाम्रो दमकल राति ८:१५ बजे नै पुगेको थियो,” उनले भने, “हामी कुनै आरोपबाट भाग्दैनौं, जिम्मेवारीबाट त अझै होइन।”
उनले आन्दोलनका दिन अस्पतालहरूसँग समन्वय गरी घाइतेहरूको निशुल्क उपचार, औषधि र स्वास्थ्यकर्मी व्यवस्थापन, रगत संकलन, लास व्यवस्थापन तथा घरसम्म पुर्याउनेसम्मको व्यवस्था गरिएको समेत दावी गरेका छन् ।
अन्त्यमा उनले मिडियालाई तथ्य पुष्टि नगरी अफवाह नफैलाउन आग्रह गर्दै भने, “देशलाई अहिले एकता र साँचो कुराको खाँचो छ, हल्ला र झूटको होइन ।”
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।