कुरिनटार – चितवनको इच्छाकमना–४ कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पतालमा पहिलोपटक थाइराइड, भिटामिन ‘बी’ र ‘डी’ परीक्षण सेवा उपलब्ध भएको छ। लायन्स क्लब अफ चितवन चौतारीले आइतबार एक कार्यक्रममार्फत करिब १७ लाख रुपैयाँ बराबरको इम्युनोएस्से एनालाइजर मेसिन अस्पताललाई हस्तान्तरण गरेपछि सेवा औपचारिक रूपमा सुरु भएको हो।

उक्त कार्यक्रममा लायन्स डिस्ट्रिक गभर्नर नवराज सापकोटाले दुर्गम पहाडी भूगोलका कारण इच्छाकामनाका स्थानीयले सहज स्वास्थ्य सेवामा पहुँच नपाएका अवस्थालाई मध्यनजर गर्दै यस क्षेत्रलाई प्राथमिकतामा राखेर सहयोग गरिएको बताउनुभयो। उहाँले सर्वशान्ति माध्यमिक विद्यालयमा डेढ करोडको परियोजना सञ्चालनको तयारी भइरहेको र आउँदा दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याइने जानकारी दिनुभयो।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले लायन्स क्लबको योगदानले स्थानीय स्वास्थ्य सेवा विस्तारमा ठूलो मद्दत भइरहेको उल्लेख गर्दै गाउँपालिकाले निर्माणाधीन १५ शैयाको अस्पताल भवनले सेवा क्षमतामा ठूलो सुधार ल्याउने बताउनुभयो।

अस्पताल प्रमुख डा. अभिषेक लिम्बुले नयाँ मेसिनले इच्छाकामना मात्र होइन, धादिङ र गोरखासम्मका बिरामीलाई समेत गुणस्तरीय सेवा उपलब्ध गराउन सहज भएको जानकारी दिनुभयो।

लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष दीपक बस्नेतको पहलमा उपलब्ध भएको यस मेसिनले थाइराइड परीक्षणका लागि भरतपुर वा काठमाडौँ धाउनुपर्ने बाध्यता समाप्त भएको अस्पतालले जनाएको छ।

हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासनिक अधिकृत चन्द्रकान्त बस्नेत, वडा अध्यक्ष रुद्रप्रसाद उप्रेती, स्वास्थ्यकर्मी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version