काठमाडौँ ।निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेमा निश्चित शुल्क लिई उपलब्ध गराउने व्यवस्था गरेको छ। आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका अनुसार देशभरको मतदाता नामावली प्राप्त गर्न राजनीतिक दलले रु १० हजार शुल्क तिर्नुपर्नेछ।
निर्देशिकाअनुसार आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दललाई दलको औपचारिक पत्रको आधारमा उक्त विवरण उपलब्ध गराइनेछ। आयोगले मतदाताको जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बरबाहेकको विवरण मात्र विद्युतीय रूपमा उपलब्ध गराउने जनाएको छ।
मतदाता नामावली हार्डड्राइभ वा पेनड्राइभमार्फत उपलब्ध गराइने व्यवस्था गरिएको छ। यदि कुनै दललाई एक प्रदेशको मात्र मतदाता विवरण आवश्यक परेमा रु ५ हजार शुल्क तिरेर लिन सकिनेछ।
निर्देशिकामा निर्वाचन अधिकृतले कुनै मतदाता, राजनीतिक दलका प्रतिनिधि वा उम्मेदवारले मतदाता नामावली हेर्न वा आफ्नै खर्चमा प्रतिलिपि बनाउन चाहेमा नामावली च्यात्न, बिगार्न वा केरमेट गर्न नपाउने गरी हेर्न वा सार्न दिनुपर्ने व्यवस्था गरिएको छ।
यस्तै, फोटोसहितको मतदाता नामावली सम्बन्धित मतदाताले मात्र हेर्न पाउने र फोटोबाहेकको मतदाता नामावली भने जोसुकैले हेर्न सक्ने व्यवस्था गरिएको जानकारी मतदाता, दल र उम्मेदवारलाई दिनुपर्ने आयोगले जनाएको छ।
यदि कुनै मतदाताले आफ्नो मात्र मतदाता नामावली लिन चाहेमा निर्वाचन कार्यालयले रु १० हजार शुल्क लिएर सोही मतदाताको विवरण मात्र समेटिएको नामावलीको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ।
त्यसैगरी, आयोगमा दर्ता भएका राजनीतिक दललाई दलको पत्रको आधारमा र स्वतन्त्र उम्मेदवारलाई निवेदनका आधारमा निर्वाचन कार्यालयले तोकिएको दस्तुर लिई मतदाता नामावली उपलब्ध गराउने व्यवस्था गरिएको छ।
जिल्लाभरको मतदाता नामावलीका लागि रु ३ हजार र निर्वाचनको कुनै एक निर्वाचन क्षेत्रको मतदाता नामावलीका लागि पनि रु ३ हजार दस्तुर तोकिएको छ।
मतदाता नामावली उपलब्ध गराउँदा मतदाताको जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बर भने कुनै पनि अवस्थामा उपलब्ध गराउन नपाइनेस्पष्ट व्यवस्था निर्देशिकामा गरिएको छ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।



