काठमाडौँ । नेपालमा आयोजना हुन लागेको आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायर आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ। विश्वकप छनोटको अन्तिम चरणका रूपमा रहेको यो प्रतियोगितामा १० देशको सहभागिता रहेको छ।

प्रतियोगिताको पहिलो दिन आज चार खेल हुनेछन्। टियु क्रिकेट मैदानमा नेपालले थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै आफ्नो अभियान सुरु गर्नेछ। सोही मैदानमा जिम्बाबे र नेदरल्याण्ड्सबीच अर्को खेल हुनेछ। यस्तै अपर मुलपानी क्रिकेट मैदानमा अमेरिका र बंगलादेश आमनेसामने हुनेछन् भने आयरल्याण्ड र पिएनजीबीच पनि खेल हुनेछ।

नेपाल क्रिकेट संघ (क्यान) ले दर्शकका लागि प्रतियोगिताका सबै खेलमा निःशुल्क प्रवेशको व्यवस्था गरेको जनाएको छ, जसले नेपाली टोलीलाई घरेलु समर्थन बलियो बनाउने अपेक्षा गरिएको छ।

 नेपाली टोली

इन्दु बर्मा (कप्तान), पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, राजमती ऐरी र मनिषा उपाध्याय।

प्रतियोगिता संरचना

जनवरी १८ देखि फेब्रुअरी १ सम्म सञ्चालन हुने प्रतियोगिताबाट शीर्ष चार टोली इङल्याण्डमा जुन २०२६ मा हुने आइसीसी महिला टी-२० विश्वकपका लागि छनोट हुनेछन्।

समूह ‘ए’ मा आयरल्याण्ड, स्कटल्याण्ड, थाइल्याण्ड, अमेरिका र जिम्बाबे छन् भने समूह ‘बी’ मा बंगलादेश, नामिबिया, नेपाल, नेदरल्याण्ड्स र पिएनजी रहेका छन्।

नेपालका लागि घरेलु मैदानमा विश्वस्तरीय छनोट प्रतियोगिता खेल्नु ऐतिहासिक अवसर मानिएको छ। पहिलो खेलमै थाइल्याण्डलाई हराउँदै बलियो सुरुवात गर्ने लक्ष्य नेपाली टोलीले राखेको छ।

Share.

Comments are closed.

Exit mobile version