काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एअरलाइन्सको ‘वाइडबडी’ विमानको इन्जिनमा आगो लागेपछि भारतको कोलकातामा सफलतापूर्वक आकस्मिक अवतरण गरिएको छ। बुधबार दिउँसो १:२९ बजे उडेको केही मिनेटमै विमानको दायाँ इन्जिनमा समस्या देखिएको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरण का सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार, उडान नम्बर TK 727 (एयरबस ए३३०) उडेको दुई मिनेटमै पाइलटले ‘इन्जिन नम्बर २’ मा आगो लागेको संकेत पाएका थिए। चालक दलले तुरुन्तै उक्त इन्जिन बन्द गरी आगो निभाउने प्रणाली सक्रिय पारेका थिए।
विमानले केही समय धादिङको धार्के क्षेत्रमा होल्ड गर्दै प्राविधिक अवस्था जाँच गरेको थियो। काठमाडौँको भौगोलिक जटिलता र विमानको वजनका कारण जोखिम नमोलिकन चालक दलले समथर भूभागमा रहेको भारतको कोलकातास्थित नेताजी सुवासचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने निर्णय लिएका थिए।
कोलकाता विमानस्थल प्रशासनका अनुसार, विमानलाई दिउँसो ३:०३ बजे सुरक्षित रूपमा अवतरण गराइएको थियो। अवतरण हुनुअघि नै धावनमार्गमा ‘फुल इमर्जेन्सी’ घोषणा गरी दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरू तयारी अवस्थामा राखिएको थियो। विमानमा सवार २२५ यात्रु र ११ चालक दलका सदस्य गरी जम्मा २३६ जना नै पूर्ण रूपमा सुरक्षित रहेको भारतीय संचारमाध्यमहरूले पुष्टि गरेका छन्।
टर्किस एअरलाइन्सको आधिकारिक जानकारी अनुसार, कोलकातामा रहेका यात्रुहरूलाई होटलमा व्यवस्थापन गरिएको छ। यात्रुहरूलाई गन्तव्यमा पुर्याउन एअरलाइन्सले बिहीबार बिहान वैकल्पिक विमान पठाउने तयारी गरेको छ। प्राविधिक समस्या देखिएको विमानलाई हाल कोलकातामै ग्राउन्डेड गरी इन्जिनको जाँच र अनुसन्धान सुरु गरिएको छ।
