काठमाडौँ, २६ चैत -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) मा लुकाएर गरिएको सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महरासहित २८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले चिनियाँ तस्करहरूसँगको मिलेमतोमा सुन तस्करी गराएको अभियोगमा महरा बाबुछोराका अतिरिक्त सहसचिव अरुण पोखरेल र अन्य कर्मचारी तथा बिचौलियाहरूलाई समेत प्रतिवादी बनाएको छ। आयोगले यस प्रकरणमा करिब ७ करोड रुपैयाँ बिगो दाबी गर्दै मुद्दा अगाडि बढाएको हो। विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार आयोगले पेश गरेको उक्त मुद्दा अहिले अदालतमा दर्ता प्रक्रियामा रहेको छ।

तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री समेत रहेका महरामाथि सुन तस्करीमा संलग्न गिरोहलाई सहयोग गरेको र पदीय मर्यादा विपरीत कार्य गरेको आरोप लागेको छ। यसअघि पनि यसै प्रकरणमा अनुसन्धानका लागि उनी पक्राउ परेका थिए। अहिले अख्तियारले विस्तृत छानबिनपछि तस्करीमा उनको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता पुष्टि हुने आधार भेटिएको भन्दै विशेष अदालतमा अभियोग पत्र दायर गरेको हो।

Share.

Comments are closed.

Exit mobile version