काठमाडौँ, १ वैशाख । नेकपा एमालेभित्र चुलिँदै गएको आन्तरिक कलहले नयाँ मोड लिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई अस्वाभाविक रूपमा च्यापेको निष्कर्ष निकाल्दै एकअर्काका प्रतिस्पर्धी मानिने उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल उहाँलाई नेतृत्वबाट बिदा गर्न एकै ठाउँमा उभिएका छन्। ओलीका सबैभन्दा विश्वासपात्र मानिने पोखरेल र संकटको सारथि मानिने पौडेलबीचको यो ‘मोर्चाबन्दी’ले एमालेको आगामी राजनीतिमा ठुलो फेरबदल ल्याउने संकेत गरेको छ।
पछिल्लो समय ‘जेनजी’ आन्दोलन र त्यसपछिको चुनावी पराजयले पार्टीको नीति असफल भएको भन्दै एमालेभित्र तीव्र असन्तुष्टि जन्मिएको थियो। सोही क्रममा गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा अध्यक्ष ओली पक्राउ परेपछि पार्टीले बादललाई कार्यवाहक अध्यक्ष र संसदीय दलको नेताको जिम्मेवारी सुम्पेको थियो। तर, बादलले संसदीय दलको नेताको हैसियतमा दिएका अभिव्यक्ति र ओलीको आडमा आफ्नै पार्टीका नेताहरूलाई ‘शत्रु’को संज्ञा दिएपछि पौडेल र पोखरेल समूह बिच्किएको हो। विशेषगरी कास्कीको कार्यकर्ता भेलामा बादलले विष्णु पौडेलप्रति लक्षित गर्दै ‘भित्र र बाहिरका दुश्मन एक्स्पोज भएको’ टिप्पणी गरेपछि विवादले उग्र रूप लिएको थियो।
अहिले एमालेका दोस्रो तहका नेताहरू गोकर्ण विष्ट, रघुजी पन्त र योगेश भट्टराई समेत नेतृत्व परिवर्तनको पक्षमा देखिएका छन्। उनीहरूले केपी ओलीको पुरानै अनुहार र कार्यशैलीले आगामी स्थानीय तथा प्रदेश सभा निर्वाचनमा पार्टीको अस्तित्व थप संकटमा पर्ने निष्कर्ष निकालेका छन्। पौडेल र पोखरेलले ‘अहिलेलाई ओलीको विकल्प खोजौँ, पछि आपसमा प्रतिस्पर्धा गरौँला’ भन्ने साझा दृष्टिकोण बनाएको नेताहरूले दाबी गरेका छन्। नेतृत्व फेर्न दबाब दिँदै युवा नेताहरूले २२ सय महाधिवेशन प्रतिनिधिमध्ये करिब ६ सयको हस्ताक्षर समेत संकलन गरिसकेका छन्।
यस विषयमा असन्तुष्ट पक्षले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत परामर्श गरिसकेको छ। पार्टी कार्यालयमा भएको छलफलका क्रममा उपाध्यक्ष पौडेलले तत्काल बैठक बसेमा ओलीलाई राजीनामा दिन खुला रूपमा आग्रह गर्ने संकेत गरेका छन्। यद्यपि, संस्थापन पक्षले भने महाधिवेशनबाट चुनिएको अध्यक्षलाई हटाउने कुरा विधानविपरीत र बेतुकको भएको दाबी गर्दै आएको छ। तर, पार्टीभित्रको बढ्दो असन्तुष्टि र प्रभावशाली दुई नेताको मिलनले ओलीलाई आगामी दिनमा नेतृत्व टिकाउन फलामको च्युरा चपाउनु सरह हुने देखिएको छ।



