काठमाडौँ , वैशाख ४ – लोकप्रिय हास्य टेलिभिजन शो ‘कमेडी दरबार’ को तेस्रो सिजन आज शुक्रबारदेखि औपचारिक रूपमा सुरु हुँदैछ। यो शो हरेक शुक्रबार राति प्राइम टेलिभिजन र ओएसआर रियालिटी युट्युब च्यानलमार्फत एकैसाथ प्रसारण हुनेछ। नयाँ वर्ष २०८३ को सुरुवातसँगै निर्माण टिमले पुतलीसडकस्थित स्टुडियोमा छायांकन सुरु गरिसकेको छ, जहाँ पहिलो र दोस्रो भागको सुटिङ सम्पन्न भइसकेको छ।
यस सिजनको पहिलो भागमा चलचित्र ‘मितज्यू’ का कलाकारहरू दयाहाङ राई, सौगात मल्ल, शिशिर बाङ्देल र तेरिया मगर पाहुनाका रूपमा सहभागी हुनुभएको छ भने दोस्रो भागमा चलचित्र ‘पहाड’ को टिमको उपस्थिति रहेको छ। अघिल्ला दुई सिजनको सफलतापछि निर्माण पक्षले यस पटक सेट र जज प्यानलमा केही महत्त्वपूर्ण परिवर्तन गरेको छ। यसअघि दुई जना जज रहने गरेकोमा यस सिजनदेखि अभिनेत्री दिया मास्केलाई ‘रानी’ को भूमिकामा नयाँ जजका रूपमा भित्र्याइएको छ। शोमा महारानीका रूपमा गौरी मल्ल र महाराजाका रूपमा मनोज गजुरेल यथावत रहनुभएको छ।
कलाकारहरूको टोलीमा पनि यस पटक नयाँ अनुहारहरू थपिएका छन्। कमेडियन दिनेश काफ्ले, सन्तोष थापा र सुजन जिम्बा शोमा नयाँ प्रवेशीका रूपमा देखिनेछन् भने पुराना कलाकारहरू सिडी विजय अधिकारी, विश्वास तिम्सिना (बिटी कान्छा), सुन्दर खनाल, पवित्रा साँकी (मिस पबी), सुजाता श्रेष्ठ, पवन खतिवडा र विकास अर्यालले निरन्तरता दिनुभएको छ। श्रद्धा प्रसाईं र बिक्की अग्रवालको निर्देशन रहेको यस शोको होस्ट बिक्की अग्रवाल र सजिना खनालले गर्नुहुनेछ भने लेखनको जिम्मेवारी सरोज भण्डारी र विकास अर्यालले सम्हाल्नुभएको छ।



