काठमाडौँ । देशभर मनसुन सक्रिय भएसँगै भइरहेको लगातारको भारी वर्षाले जनजीवन प्रभावित बनेको छ । पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार चितवनको भरतपुरमा ३१६.८ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन अति भारी वर्षा हो । यसैगरी गैँडाकोट, आँबुखैरेनी र रामपुर लगायतका स्थानमा पनि २०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । मनसुनको न्यून चापीय रेखाका कारण विशेषगरी गण्डकी र बागमती प्रदेशमा वर्षा बढी केन्द्रित देखिएको छ भने अन्य प्रदेशमा मध्यम खालको वर्षा भइरहेको छ ।

असार ३० गते बिहान ६ बजेसम्मको अपडेट अनुसार, पश्चिमको बर्दियादेखि पूर्वको उदयपुरसम्मका विभिन्न स्थानमा वर्षा सक्रिय रहेको छ । मनसुन सक्रिय भइरहँदा काठमाडौँ उपत्यकासहित देशका ३४ जिल्लामा बाढीको उच्च जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाले जारी गरेको पछिल्लो विवरण अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरसहित काभ्रेपलाञ्चोक, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, संखुवासभा, दोलखा, रामेछाप र सिन्धुलीमा बाढीको विशेष जोखिम छ । यसका साथै धादिङ, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा र कैलालीमा पनि बाढीको मध्यम जोखिम रहेको छ ।

वर्षाको पछिल्लो अवस्थालाई हेर्दा हिजोको तुलनामा आज वर्षाको मात्रा केही घट्ने अनुमान गरिए पनि कोशी प्रदेशको तराई क्षेत्रमा भने अझै मध्यमदेखि भारी वर्षाको सम्भावना कायमै रहेको छ । मौसम पूर्वानुमान मोडेलहरूले समय–समयमा फरक तथ्याङ्क देखाउन सक्ने भएकाले सतर्कता अपनाउनु आवश्यक छ । साना नदी, खहरे खोला तथा तटीय क्षेत्रहरूमा पानीको बहाव खतरनाक तहसम्म पुग्न सक्ने भएकाले नदी किनारका बस्तीमा उच्च सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

नदी किनार, होचा भूभाग तथा डुबान भइरहने क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, मौसम र बाढीसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पूर्ण रूपमा पालना गर्न अपिल गरिएको छ । निरन्तरको वर्षाले गर्दा पहाडी भेगमा पहिरो र तराईमा डुबानको खतरा उच्च रहने हुँदा सम्बन्धित जिल्लाका स्थानीय तह, सुरक्षा निकाय र विपद् व्यवस्थापन संयन्त्रलाई आवश्यक पूर्वतयारीका साथ ‘हाई अलर्ट’ मा रहन निर्देशन दिइएको छ । सम्भावित विपद्का घटनामा तत्काल उद्धार र राहत कार्यमा जुट्न सुरक्षाकर्मीहरू तैनाथ अवस्थामा रहेका छन् ।

Share.

Comments are closed.

Exit mobile version