काठमाण्डौं । हिन्दु वैदिक ज्योतिषशास्त्रअनुसार देवगुरु बृहस्पति (गुरु ग्रह) २०८३ साल असार ३२ गतेदेखि साउन २४ गतेसम्म अस्त रहने भएकाले यस अवधिमा विवाह, गृहप्रवेश, व्रतबन्ध लगायतका शुभकार्य नगर्न ज्योतिषविद्हरूले सुझाव दिएका छन्।
पञ्चाङ्गमा उल्लेख भएअनुसार बृहस्पति सूर्यको अत्यन्त नजिक पुग्दा केही समयका लागि दृष्टिगोचर नहुने अवस्थालाई बृहस्पति अस्त भनिन्छ। ज्योतिषशास्त्रमा बृहस्पतिलाई धर्म, ज्ञान, शिक्षा, सन्तान, गुरु तथा शुभफलका कारक ग्रहका रूपमा मानिने भएकाले यसको अस्त अवधिमा शुभ साइतका कार्यहरू स्थगित गर्ने परम्परा रहँदै आएको छ।
यस अवधिमा विवाह, व्रतबन्ध (उपनयन), नयाँ घरको गृहप्रवेश, नयाँ उद्योग–व्यवसाय वा कम्पनी शुभारम्भ, देवप्रतिष्ठा, मूर्ति स्थापना, ठूला मंगलकार्य, जग्गा खरिद–बिक्री, ठूलो लगानी, राजनीतिक शपथ तथा पदभार ग्रहण, ठूला व्यावसायिक सम्झौता, अनावश्यक शुभ यात्रा तथा ठूलो रकम ऋण दिने–लिने कार्य नगर्न उपयुक्त मानिएको छ।
यद्यपि बृहस्पति अस्त अवधिमा दैनिक पूजा, जप, ध्यान, भगवान विष्णु तथा बृहस्पति देवको आराधना, दान–धर्म, सेवा, परोपकार, अध्ययन–अध्यापन, ज्ञान आर्जन, नित्यकर्म, श्राद्ध, तर्पण, आवश्यक यात्रा, उपचार, घरायसी नियमित काम तथा सत्कर्म भने गर्न सकिने जनाइएको छ।
यस्तै, श्रावण महिनाका शुभ साइत अनुसार अन्नप्राशनका लागि ४, ८, ११, १८ र ३० गते, अग्नि जुराउनेका लागि १८ र ३० गते, रुद्री जुराउनेका लागि १२ गते शुभ रहेको उल्लेख छ। तर व्रतबन्ध, विवाह, गृहआरम्भ, गृहप्रवेश तथा पसल खोल्ने साइत भने श्रावण महिनाभर नरहेको पञ्चाङ्गमा उल्लेख गरिएको छ।
ज्योतिषविद्हरूका अनुसार साउन २४ गते बृहस्पति पुनः उदय भएपछि विवाह, गृहप्रवेश, नयाँ व्यवसाय शुभारम्भ लगायतका शुभकार्यका साइत पुनः प्रारम्भ हुनेछन्। धार्मिक आस्था भएकाहरूले यो अवधिमा पूजा, साधना, दान र सत्कर्ममा विशेष ध्यान दिनु उत्तम मानिन्छ।
