धादिङ, २ साउन । धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ बेल्खुस्थित पृथ्वी राजमार्ग र गल्छी गाउँपालिका वडा नम्बर २ महादेवस्थान वेलिनिटार जोड्ने झोलुङ्गे पुल सञ्चालनमा आएको दुई वर्ष पनि नपुग्दै अत्यन्तै जोखिमपूर्ण बनेको छ। पुल एकतर्फी रूपमा कोल्टिएपछि दैनिक आवतजावत गर्ने सयौँ स्थानीय बासिन्दा, स्कुले विद्यार्थी, किसान तथा मोटरसाइकल चालकहरू ठूलो जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। गल्छी गाउँपालिका वडा नम्बर २ र ३ का बासिन्दालाई पृथ्वी राजमार्गसँग जोड्ने मुख्य माध्यमका रूपमा रहेको यो पुल अहिले जुनसुकै बेला पनि दुर्घटना हुन सक्ने उच्च जोखिममा पुगेको हो।

स्थानीयबासीका अनुसार यो पुल भएर दैनिक करिब ४ देखि ५ सय सर्वसाधारण आवतजावत गर्ने गर्दछन् भने दर्जनौँ मोटरसाइकलहरू समेत यही पुल प्रयोग गरेर गुड्ने गरेका छन्। केही महिनाअघि पुलको गजुरीतर्फ आदमघाट नजिकै घडेरी सम्याउने क्रममा गैरजिम्मेवार तरिकाले सयौँ ट्रिपर माटो त्रिशूली नदीतर्फ फालिएको थियो। सोही माटोले पुलको पखेटा तन्काउने लठ्ठा र एङ्करिङ संरचना (जीप) पुरिएपछि पुल बिस्तारै एकातर्फ कोल्टिन थालेको स्थानीयको भनाइ छ। पछिल्लो समय निरन्तर भइरहेको वर्षाका कारण उक्त माटो बगेर लठ्ठा अझ गहिरो रूपमा पुरिँदै गएपछि पुलको अवस्था झन् जटिल र संकटपूर्ण बनेको स्थानीय लक्ष्मण खतिवडाले जानकारी दिनुभयो।

पुलको आधा भाग एकातर्फ नराम्ररी ढल्किएका कारण भारी बोकेर हिँड्ने पैदलयात्री र मोटरसाइकल चालकहरूलाई सन्तुलन मिलाउन निकै कठिन भइरहेको छ। पुल कोल्टिएकै कारण दुर्घटनाको क्रमसमेत बढ्न थालिसकेको छ। हिजो मात्रै पनि पुल पार गर्ने क्रममा एक स्थानीय व्यक्ति लडेर गम्भीर घाइते भएका र उनको टाउकोमा आठ टाँका लगाउनुपरेको स्थानीयबासीले बताएका छन्। यो व्यस्त पुल निर्माण भएपछि पृथ्वी राजमार्गमा सञ्चालन हुने सार्वजनिक सवारी साधनका चालक र सह-चालकहरूले समेत “नयाँ पुल” भन्दै यात्रु चढाउने र ओराल्ने मुख्य स्थानका रूपमा यसलाई प्रयोग गर्दै आएका थिए। तर अहिले भने वर्षायाममा उर्लिएको त्रिशूली नदीमाथि हल्लिएको र एकातर्फ ढल्किएको पुल तर्नुपर्दा राजमार्ग क्षेत्रका यात्रुहरू समेत चरम त्रासका बीच यात्रा गर्न बाध्य छन्।

बर्खायाममा लगातार वर्षा भइरहेकाले माटो अझ दबिँदै जाँदा र हावाहुरी चल्दा पुलमा थप क्षति पुग्ने र पुल नै पल्टिने खतरा बढेको छ। समयमै मर्मत नगरिए दैनिक विद्यालय आउने–जाने बालबालिका, किसान तथा सर्वसाधारण त्रिशूली नदीमा खसेर ठूलो मानवीय क्षति हुन सक्ने भन्दै स्थानीयले गम्भीर चिन्ता व्यक्त गरेका छन्। स्थानीयबासीले गल्छी र गजुरी गाउँपालिकाका साथै सम्बन्धित वडा कार्यालयसमक्ष पुलको पखेटा र लठ्ठा पुरिएको माटो तत्काल हटाई पुल सुरक्षित बनाउन माग गर्दै ध्यानाकर्षण गराएका छन्।

यसैबीच, स्थानीय स्तरमा सक्रिय रहेको विल्केश्वर युवा क्लबले समेत पुल कोल्टिएको र जोखिम बढेकोबारे सार्वजनिक सूचना जारी गर्दै सर्वसाधारणलाई यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। क्लबले सम्बन्धित सरोकारवाला निकायलाई तत्काल प्राविधिक टोली खटाएर पुलको निरीक्षण गर्न, सुरक्षा व्यवस्था मिलाउन र मर्मत कार्य सुरु गर्न जोडदार अनुरोध गरेको छ। स्थानीय तथा सरोकारवालाहरूले गल्छी गाउँपालिका, गजुरी गाउँपालिका र जिल्लाका सम्बन्धित निकायहरूलाई ढिलाइ नगरी सम्भावित ठूलो दुर्घटनाबाट जोगाउन तत्काल आवश्यक र ठोस कदम चाल्न आग्रह गरेका छन्।

Share.

Comments are closed.

Exit mobile version