धादिङ। त्रिशूली नदीकिनारको बालुवा झिकेर जीविकोपार्जन गर्दै आएका धादिङको गजुरी गाउँपालिका–६ जरेखेतका मजदुरलाई प्रहरीले धपाएको छ। वर्षातको समयमा नदीले थुपारेको बालुवा परम्परागत शैलीमा छानेर जीवन धान्दै आएका करिब ४०-४२ जना मजदुरलाई बुधबार इलाका प्रहरी कार्यालय गजुरीको टोलीले नियन्त्रणमा लिँदै उनीहरूका औजारसमेत खोसेको हो।
उजुरी परेपछि खटिएको प्रहरी टोलीले काम गरिरहेका मजदुरलाई धपाएर उनीहरूले प्रयोग गर्दै आएका ८-१० सेट थुन्से, साबेल र फलामका डिब्बाहरू नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीले पुष्टि गर्नुभयो।
नदीजन्य पदार्थ उत्खननमा ठूला मेसिन प्रयोग गर्न नपाइने भए पनि परम्परागत रूपमा हातैले बालुवा निकालेर बिक्री गर्ने चलन लामो समयदेखि चल्दै आएको थियो। तर, प्रहरीले सामान जफत गर्दा कुनै बरामदी मुचुल्का वा लिखित कागजात नदिएको र कारबाहीको स्पष्ट कानुनी आधारसमेत नबताएको पीडित मजदुरहरूको गुनासो छ।
प्रहरीको यो कदमप्रति स्थानीय बासिन्दा र जनप्रतिनिधिले कडा असन्तुष्टि जनाएका छन्। रातको समयमा ठूला मेसिन प्रयोग गरेर हुने अवैध उत्खनन रोक्न नसकेको प्रहरीले पसिना बगाएर दैनिक गुजारा चलाउने गरिब मजदुरमाथि मात्रै सास्ती दिएको उनीहरूको आरोप छ।
सिद्धलेक गाउँपालिका–७ का पूर्व वडाध्यक्ष लक्ष्मण खतिवडाले प्राकृतिक रूपमा थुप्रिएको बालुवा थुन्सेमा बोक्दा न त भू-क्षय हुने न सडकमा असर पुग्ने भन्दै सोझा मजदुरका औजार जफत गर्नुको औचित्यमाथि प्रश्न उठाउनुभयो।
यता, वर्षायाममा नदीमा पानीको बहाव बढेकाले सम्भावित दुर्घटना रोक्न प्रहरीले यस्तो कदम चालेको हुन सक्ने अनुमान गरिए पनि जिल्ला प्रशासन कार्यालय धादिङले भने यसबारे कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन।
