काठमाडौँ, भदौ १८ । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको बाढीका कारण सडक तथा यातायात पूर्वाधारमा ठूलो क्षति पुगेको बताएका छन्।

बाढीका कारण गल्छी–वेत्रावती–रसुवागढी सडकको ८२ किलोमिटर खण्ड प्रभावित भएको छ। विदुर–वेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा मात्रै ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने थप १६ किलोमिटर सडकमा आंशिक क्षति पुगेको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।

बाढीले पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर र परेवाभीर क्षेत्रमा समेत सडकमा क्षति पुर्‍याएको छ। त्यस्तै, ४८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ। तीमध्ये २० वटा मर्मत गरेर सञ्चालन गर्न सकिने र २८ वटा नयाँ निर्माण गर्नुपर्ने अवस्था रहेको शाहले बताएका छन्।

बाढीका कारण प्रभावित क्षेत्रमा ३१ वटा मोटरेबल पुलसमेत बगेका छन्।

पृथ्वी राजमार्गअन्तर्गत गल्छी, बैरेनी, जरीखेत, पोखरे, मुङ्गे र गलौदी खण्डमा लेदो तथा माटो हटाएर यातायात सञ्चालनमा ल्याइएको छ। गल्छी–देवीघाट खण्डमा लेदो हटाउनेसँगै बेलिब्रिज निर्माणको काम भइरहेको छ। तादी–देवीघाट र वेत्रावती क्षेत्रमा पनि बेलिब्रिज राख्ने तयारी अघि बढाइएको छ।

क्षतिग्रस्त सडक तथा संरचनाको मर्मत र पुनःनिर्माणका लागि ५० जना प्राविधिक परिचालन गरिएको छ। सडक बोर्डअन्तर्गत तत्कालका लागि ३ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ भने थप आवश्यक रकम सम्बन्धित आयोजनाको बजेटबाट खर्च गर्न अनुमति दिइएको प्रधानमन्त्री शाहले बताएका छन्।

क्षतिग्रस्त पूर्वाधारको विस्तृत विवरण हेलिकप्टर तथा पैदलमार्फत संकलन भइरहेको छ। थप २० स्थानमा बेलिब्रिज राख्न सम्भाव्यता अध्ययन भइरहेको र तीन स्थानमा बेलिब्रिज राख्ने प्रक्रिया सुरु गरिएको शाहले जानकारी दिएका छन्।

यसैबीच, बाढीका कारण क्षति पुगेको मुग्लिन–नारायणगढ सडकअन्तर्गत कृष्णभीर खण्डको मर्मत भदौ महिनाभित्रै सम्पन्न गरी यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्।

बाढीबाट क्षतिग्रस्त सडक, पुल तथा अन्य यातायात पूर्वाधारको पुनःस्थापना र वैकल्पिक मार्ग सञ्चालनलाई सरकारले प्राथमिकतामा राखेको जनाएको छ।

Share.

Comments are closed.

Exit mobile version