काठमाडौं — भोटेकोशीको विनाशकारी बाढीपछि सिर्जित असहज परिस्थितिमा पीडामा रहेका नागरिकप्रति गैरजिम्मेवार र अमानवीय टिप्पणी गर्नेहरूमाथि कडा कारबाही गरिने चेतावनी सरकारले दिएको छ। प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै असीम शोक र सर्वस्व गुमाएका प्रभावितहरूलाई हियाउने वा थप मानसिक कष्ट दिनेहरू अपराधी भएको र उनीहरूप्रति सरकार निर्मम हुने स्पष्ट पार्नुभएको छ।

बाढीका कारण ज्यान गुमाएकाहरूप्रति सामूहिक श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री शाहले आफन्त र सम्पत्ति गुमाएर पीडामा रहेका नागरिकको आक्रोश स्वाभाविक भएको उल्लेख गर्नुभएको छ। एक्कासि आएको विपत्तिले आफ्ना परिवारजन र जीवनभरको कमाइ गुमाएका नागरिकले व्यक्त गरेको आक्रोश उनीहरूको गहिरो पीडा पोख्ने माध्यम भएकाले राज्यले त्यसलाई संयमतापूर्वक सुन्ने उहाँको भनाइ छ।

विपद्का बेला उद्धार तथा राहत कार्य तीव्र पारिएको जानकारी दिँदै प्रधानमन्त्री शाहले नुवाकोटको बेत्रावतीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको सफल उद्धारले सिङ्गो देशलाई नै आशा र हिम्मत दिएको बताउनुभएको छ। ज्येष्ठ नागरिक, बालबालिका तथा अशक्तहरूलाई प्राथमिकतामा राखेर उद्धार टोलीहरू अहोरात्र खटिएको र उनीहरूलाई सुरक्षित स्थान तथा होल्डिङ सेन्टरहरूमा राखिएको उहाँले उल्लेख गर्नुभएको छ।

क्षतिग्रस्त भौतिक पूर्वाधार र आश्रयस्थलमा रहेका वृद्धवृद्धालाई तत्कालका लागि काठमाडौं तथा नुवाकोटका विभिन्न सुरक्षित स्थलमा स्थानान्तरण गरी ह्वीलचियर, वाकर लगायतका स्वास्थ्य सामग्री र मनोसामाजिक परामर्श उपलब्ध गराइएको छ। प्रधानमन्त्रीले अस्थायी शिविरको बसाइलाई सकेसम्म छोटो बनाएर प्रभावितहरूलाई छिटोभन्दा छिटो सुरक्षित स्थायी बसोबासको प्रबन्ध मिलाउन सरकार प्रयासरत रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

आफ्नो जायजेथा र ओत बगाए पनि नागरिकको स्वाभिमान र अनुभवलाई बाढीले बगाउन नसक्ने भन्दै उहाँले प्रभावितहरूलाई मन दह्रो बनाउन र राज्यलाई आफ्नै परिवार सम्झेर सहकार्य गर्न अपिल गर्नुभएको छ। यस्तै, जोखिमपूर्ण अवस्थामा पनि निरन्तर खोज, उद्धार र राहतमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानहरूको उच्च प्रशंसा गर्दै उहाँहरूलाई हौसला दिनुपर्नेमा जोड दिइएको छ।

Share.

Comments are closed.

Exit mobile version