काठमाण्डौं । सरकार परिवर्तनको हल्ला निराधार भएको, पुष्पकमल दहाल नेतृृत्वको सरकार लामै समय सम्म टिक्ने जस्ता दावी अन्तत गलत सावित हुने भएको छ ।
प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित झै भएको छ । कांगे्रेस र एमालेका नेताहरुबीच सत्ता समीकरणदेखि निर्वाचन प्रणालीमा देखिएको त्रुटि सच्याउन संविधान संसोधनसम्मको विषयमा सहमतिको खाका तयार भएसँगै प्रचण्ड नेतृत्वको सरकार धेरै दिन(समय) नटिक्ने निश्चित झै भएको स्रोतहरुले दाबी गरेका छन् ।
नेपाली काँग्रेस र नेकपा एमालेको नेत्तृत्वले मध्यरातमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेपछि सरकार परिवर्तन हुन लागेको पुष्टि भएको हो ।नेपाली काङ्ग्रेस र नेकपा एमाले नयाँ सत्ता साझेदार बन्ने निश्चित भएको छ । नेपाली काँग्रेसले एकाएक काँग्रेसले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा अगाडि सारेसँगै सार्दै उच्चस्तरीय वार्ता अघि बढाएपछि केही दिन देखि नेपाली राजनितिमा तरंग आएको थियो । अन्तत एमाले र काँग्रेसको नयाँ सरकार बन्ने भएको छ।
यसैबिच नयाँ सरकार गठनबारे काँग्रेस र एमालेका नेताहरू मध्यरातमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमतिपछि काँग्रेस र एमालेका नेताहरू सोमबार राति राष्ट्रपति भवन पुगेका हुन् । राष्ट्रपति पौडेलसँग नयाँ सरकार गठन प्रक्रियाको बारेमा छलफल भएको स्रोतले खबर साईटलाई बतायो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए । एमालेले उनलाई दिएको विश्वास मत फिर्ता लिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । एमाले र काँग्रेसबिच राष्ट्रपति पौडेललाई राखेर नै नयाँ सरकार गठनबारे छलफल भएको छ ।
सरकार परिवर्तनको पक्षमा राष्ट्रपति पौडेल सकारात्मक देखिएपछि दुवै दल सहमति अनुसार अगाडि बढ्ने भएका छन् । दुई दलका नेताहरूले एक आपसमा बसेर र सामूहिक रूपमा पनि सहमतिलाई अन्तिम रूप दिइसकेका छन्। सङ्घीय सरकारमा प्रधानमन्त्रीमा केपी शर्मा ओलीले पहिले नेतृत्व गर्ने भएका छन्। त्यसपछि चुनावी सरकारको नेतृत्व देउवाले गर्ने सहमति भएको स्रोतको दाबी छ।
एमालेले प्रधानमन्त्री अर्थमन्त्रीसहितका मन्त्रालयहरू पाउने भएको छ भने काँग्रेसले गृहसहित को मन्त्रालय पाउने भएको छ। संविधान संशोधन रहेकाले दुई तिहाइ पुर्याउन संसदका साना दलहरू लोसपा र राप्रपालाई पनि सरकारमा ल्याउने तयारी छ । दुई तिहाइ पुर्याउन आउने पार्टीलाई पनि मन्त्रालय दिने गरी अध्यक्ष ओली र सभापति देउवाबिच समझदारी भएको छ।
सहमतिमा प्रदेश सरकारको पनि बाँडफाँट गरिएको छ । जसअनुसार, एमालेले कोसी, लुम्बिनी र कर्णाली पाउने छ भने काँग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गर्ने छ । मधेस प्रदेशमा मधेसकेन्द्रीत दललाई नेतृत्व दिने सहमति छ ।
एमाले र कांग्रेस मिलेर नयाँ गठबन्धन बनाउने कसरत चलिरहेकाे चर्चाका बीच नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यसअघि नै कांग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता सहकार्यबारे संवाद गरेकाे खुलेकाे छ ।
शनिबार कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो । तीन घण्टासम्म चलेकाे उक्त भेटवार्तापछि राजनीतिमा तरंग नै आएको छ । तर, त्यसअघि नै प्रधानमन्त्री प्रचण्डले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतलाई बूढानीलकण्ठ देउवाकहाँ पठाएर सत्ता समीकरणमा आउनसक्ने फेरबदलका बारेमा छलफल गराएका थिए ।
सरकार टिकाउन प्रचण्डकै आग्रहमा शनिबार राति नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि बूढानीलकण्ठ पुगेका थिए ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।