काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारसँग विमतिका विषयमा चुप लागेर नबस्ने बताउनुभएको छ।

आज काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेकपा (एमाले)सँगका विमतिका विषयवस्तुलाई तिलाञ्जली दिने वा जबरजस्ती ढाकछोप गर्न खोजे सरकार नै दुर्घटनामा पर्ने भएको चुप नबस्ने बताउनु भएको हो।

सोही कारण पनि आफूले पटकपटक विमतिका विषय बाहिर ल्याउने गरेको शर्माले बताउनुभयो। कांग्रेस र एमालेबीच विमतिका विषय थाती राखेर अघि बढ्न वर्तमान गठबन्धन नबनेको उहाँको भनाइ छ ।

महामन्त्री शर्माले सत्तासाझेदार दलहरूबीच विमतिका कैयौँ विषय रहेकोले कार्पेटमुनि धुलो छोपेर माथिबाट अत्तर छर्केर जाने भन्ने हुनै नसक्ने दाबी गर्नुभयो।

उहाँले सरकारको भविष्य काम र संयमतामा निहित रहने बताउनु भयो।शर्माले सरकारले मुलुकलाई तत्काल मुनाफा दिने खालका आयोजनाको कामलाई अघि बढाउन जोड दिनुपर्ने औँल्याउनुभयो।

Share.

Comments are closed.

Exit mobile version