काठमाण्डौं । पशुलाई एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्दा आवश्यक मापदण्ड पूरा नगरे कारबाहीको भागिदारी बन्नुपर्ने नियमको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन । तराईका विभिन्न जिल्लाबाट राष्ट्रिय राजमार्ग हुंदै काठमाण्डौं भित्र्याईने पशु ढुवानीका क्रममा आवश्यक मापदण्ड पूरा नगरीकन पशुलाई यातना दिएर ओसार पसार गर्ने गरीएको छ ।

राजमार्गका प्रहरीले मापदण्ड विपरित कार्य गर्नेलाई कडा कारवाही नगर्दा ढुवानीकर्ताहरुको मनोमानी बढेको छ ।  पशु अधिकारकर्मीहरू सरकारी निकायले नियमको प्रभावकारी अनुगमन गर्न नसकेको बताउँछन् ।

हरेक दिन शरीर रक्ताम्मे बनाएर मासुका लागि ठुलो सङ्ख्यामा राँगा, भैँसी, खसीबोकाको ढुवानी हुने गर्दछ । तर, सरकारी निकायले प्रभावकारी अनुगमन गर्न सकेको छैन । पशु अधिकारकर्मीको लामो प्रयास र आन्दोलनपछि पशुलाई ढुवानी गर्न आवश्यक नीतिलाई समेटेर पशु ढुवानीसम्बन्धी २०६४ को मापदण्ड तथा पशु कल्याण निर्देशिका २०७३ बने पनि कार्यान्वयन हुन नसकेको हो ।

पशुलाई एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्दा आठ घण्टाभन्दा धेरै हिँडाउन नपाउने व्यवस्था गरे पनि त्यो कार्यान्वयनमा नआउँदा पशुले दुःख कष्ट पाउँदै आएका छन् । गाडीमा ढुवानी गर्दा अधिकतम ४८ घण्टामा गन्तव्य पु¥याउनै पर्ने हरेक आठ घण्टामा तल झारेर दानापानी दिएर मात्र अघि बढाउनुपर्ने निर्देशिकामा उल्लेख भए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।

सरकारले पशु ढुवाको लागि २७ वर्ष अगाडि नै मापदण्ड बनाएको थियो । त्यो मापदण्ड अहिलेसम्म कार्यान्वयनमा आएको पाइँदैन ।

बेलाबेलामा एनिमल नेपालले सो ऐन कार्यान्वयनको लागि पत्रकार सम्मेलन गर्नेदेखि पशु ढुवानीमा हुने गरेको ज्यादतीको बारेमा आवाज उठाउँदै आएको छ ।

पशु ढुवानी गर्दा खास गरी राँगा, भैंसी, पाडापाडी एकै ठाउँमा कोचेर यातनापूर्वक ढुवानी गर्ने गरेको पाइन्छ ।

त्यसमा नाक, सिंङ्ग, पुच्छरमा डोरीले बाँधेर त्यत्तिकै यातना दिने गरेको देखिन्छ । त्यसको लागि पशु ढुवानी सम्बन्धी २०५५ मा नियमावली बनाइएको थियो ।

त्यसपछि २०६४ मा पशुढुवानी सम्बन्धी मापदण्ड बनाइयो । २०६४ को पशुढुवानी सम्बन्धी मापदण्ड अनुसार शारीरिक बनोट फरक भएका पशुको ढुवानी एउटै गाडीमा गर्नुहुँदैन । गाडीको साइडमा फम टाँसेको हुनुपर्छ ।

ढुवानी गर्दा राँगा, भैंसी, खसीको मुख ड्राइभरतिर फर्किएका हुनुपर्छ । तर, २०८१ सालमा आइपुग्दासमेत त्यो मापदपण्ड लागु भएको पाइँदैन । लामो दुरीबाट पशु ढुवानी गर्दा कच्चि सडकबाट ढुवानी गर्न पाइँदैन ।

तर, शपु ढुवानीकर्ताले पक्की सडकबाट नभई कच्ची सडकबाट तीब्र गतिमा ढुवानी गर्ने गर्दा कतिपय पशुहरुलाई चोटपटक लागेर मृत्यु समेत हुने गरेको पाइन्छ ।

लामो दूरीमा पशु ढुवानी गर्दा प्रत्येक ८ घण्टामा गाडीबाट ओरालेर घाँस, पराल र पानी खुवाउनुपर्ने हुन्छ । एउटा ट्रकमा २० वटा भन्दा बढी पशु ढुवानी गर्न पाइँदैन तर त्यसो गरिएको पाइँदैन ।

त्यसरी लापरवाहीपूर्वक ढुवानी गर्दा मरेका पशुहरु बजारमा ल्याएर विक्रीवितरण गरी उपभोक्तालाई मासु खुवाउने काम गरेको पाइन्छ । तर, सरकार र सम्बन्धित निकायले यस्ता विषयमा ध्यान दिएको पाइँदैन ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version