धादिङ । सिद्धलेक गाउँपालिकामा सुशासन, पारदर्शिता र कार्यपालिकाको निर्णय प्रक्रिया सुधार गर्नुपर्ने मागसहित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधि मण्डलले गाउँपालिका अध्यक्ष परशुराम खतिवडा र प्रमुख प्रशासकीय अधिकृत अनिशा आचार्यलाई शुक्रबार ध्यानाकर्षण गराएको छ।

प्रतिनिधि मण्डलले लामो समयदेखि कार्यपालिकाको बैठक नबसेको, रातो कितावमा योजना थप गरिएको, अस्थायी कर्मचारीले तलब नपाएको, कार्यपालिकाको बैठक पुस्तिका घर–घर लगेर हस्ताक्षर संकलन गरी बहुमत पु¥याइने गरेको तथा उपाध्यक्षको कानुनी अधिकारमा हस्तक्षेप भएको जस्ता गम्भीर अनियमितताबारे औपचारिक रूपमा सरोकारवाला पक्षलाई जानकारी गराएको सदस्य विनोद अर्यालले बताए।

यस क्रममा सूचनाको हकका निवेदन दर्ता नगर्ने, अध्यक्षको सचिवालयमा कर्मचारी परिवर्तन गर्दा कार्यपालिकालाई जानकारी नदिनु, पत्रकारलाई झुटा मुद्दा लगाएर पदको दुरुपयोग गरिएको , पालिकाको खरिद प्रक्रियामा अनियमितता, कर्मचारी छनोटमा लापरवाही र नीतिगत भ्रष्टाचार बढ्दै गएकोलगायतका विषयमा पनि प्रतिनिधि मण्डलले कडा आपत्ति जनाएको छ। सहभागी सीताराम दुवाडीका अनुसार आगामी दिनमा यस्ता गतिविधि नगर्न चेतावनीसमेत दिइएको छ।

प्रतिनिधि मण्डलमा विनोद अर्यालसँगै पुष्प थपलिया, बुद्ध गुरुङ, सम्झना लामिछाने, सीताराम दुवाडी, खुनराज थापा, रामकुमार श्रेष्ठलगायतको सहभागीता थियो।

सिद्धलेक गाउँपालिकामा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दल मिलेर बनेको मोर्चाबाट उपाध्यक्षसहित ६ जनाको प्रतिनिधित्व छ। त्यस्तै नेकपा एमालेका ३ जना वडा अध्यक्षसहित ६ जना, र नेपाली कांग्रेसका अध्यक्षसहित ३ जनाको प्रतिनिधित्व रहेको छ।

गत निर्वाचनमा गठबन्धनका रूपमा नेपाली कांग्रेसबाट अध्यक्ष र एकीकृत समाजवादीबाट उपाध्यक्ष विजयी भएका थिए। तर हाल अध्यक्ष खतिवडा र उपाध्यक्ष सविता अर्यालबीचको असमझदारीले निर्णय कार्यान्वयनमा समस्या पैदा हुँदै आएको बताइन्छ। नेकपा पक्षधरले अध्यक्षले समन्वय र परामर्श बिना एकलौटी निर्णय गर्ने आरोप लगाएका छन् भने अध्यक्ष पक्षले आफूलाई मात्र दोषारोपण गरी असहयोग गर्ने प्रवृत्ति बढी रहेको गुनासो राख्दै आएका छन्।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version