काठमाडौं । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि १२ राजनीतिक दलले निर्वाचन आयोगमा दर्ता गराएका छन्। आयोगले सोमबारदेखि दर्ता प्रक्रिया सुरु गरेको हो। पहिलो दिन नै प्रमुख दलहरूसहितका राजनीतिक पार्टीहरूले टोलीसहित आयोग पुगेर दर्ता प्रक्रिया पूरा गरेका छन्।

दर्ता भएका दलमध्ये पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ११ औँ नम्बरमा दर्ता भएको आयोगले जनाएको छ। नेकपाका तर्फबाट राजेन्द्रप्रसाद पाण्डेसहितका नेता तथा कार्यकर्ताहरू आयोग पुगेका थिए।

यसअघि दर्ता भएका दलमध्ये पहिलो नम्बरमा सन्ध्या खनाल नेतृत्वको देश विकास पार्टी, दोस्रोमा दुर्गा सोव नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी, तेस्रोमा द्रोण अधिकारी नेतृत्वको देशभक्त समाज पार्टी, चौथोमा गीता क्षेत्री नेतृत्वको नेपाल लोकतान्त्रिक पार्टी र पाँचौँमा नारायणमान विजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टी दर्ता भएका छन्।

छैटौँ नम्बरमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), सातौँमा प्रभु साहको आम जनता पार्टी, आठौँमा बुद्धलाल मेचे नेतृत्वको मंगोल नेशनल अर्गनाइजेशन पार्टी, नवौँमा विश्वेन्द पासवान नेतृत्वको बहुजन शक्ति पार्टी र दशौँमा अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टी दर्ता भएका छन्।

त्यसैगरी एघारौँ नम्बरमा प्रचण्ड नेतृत्वको नेकपा र १२ औँ नम्बरमा मेघबहादुर कामी नेतृत्वको नेपाल मानवतावादी पार्टी दर्ता भएका छन्। आयोगका अनुसार प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन इच्छुक दलले मंसिर १० गतेभित्र दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ।

राष्ट्रिय सभा निर्वाचनमा ३ दल दर्ता
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि हालसम्म ३ राजनीतिक दलले दर्ता गराएका छन्। पहिलो नम्बरमा नेपाल मजदुर किसान पार्टी, दोस्रोमा बहुजन शक्ति पार्टी र तेस्रोमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दर्ता भएको आयोगले जनाएको छ। राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ताको अन्तिम मिति मंसिर ७ गते तोकिएको छ।

 

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version