काठमाडौँ, ६ वैशाख । अमेरिकाको सान फ्रान्सिस्कोमा विगत लामो समयदेखि घरबारविहीन (होमलेस) अवस्थामा रहँदै आएकी एक नेपाली युवती मृत फेला परेकी छिन् । नेपाली समुदायका अनुसार मृतक युवती प्रमिला त्रिपाठी भुर्तेल हुन्, जो विगत ४–५ वर्षदेखि सान फ्रान्सिस्कोका सडकहरूमा कष्टकर जीवन बिताइरहेकी थिइन् ।
प्रमिला धेरै वर्षअघि अमेरिका पुगेकी थिइन्, तर पछिल्लो ५ वर्षदेखि उनी सडकमा बस्न विवश थिइन् । उनलाई सुधार गृह (रिह्याब) मा राखेर सामान्य जीवनमा फर्काउन नेपाली समुदायले पटक–पटक प्रयास गरे पनि सफल हुन सकेको थिएन । गैरआवासीय नेपाली सङ्घ अमेरिका का तत्कालीन अध्यक्ष हरि ओझाका अनुसार उनलाई १०–१५ दिन आफ्नै घरमा राखेर रिह्याब पठाउने कोसिस गरिएको थियो ।
ओझाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै लेख्नुभएको छ, “समुदायलाई उनी घरबारविहीन भएको बारे पहिल्यै जानकारी थियो । मैले उनलाई आफ्नै घरमा राखेर सुधार गृह पठाउन खोजेको थिएँ, तर अमेरिकाको नियमअनुसार सम्बन्धित व्यक्ति आफैँ सहमत नभएसम्म भर्ना गर्न नमिल्ने भएकाले हाम्रो प्रयास सफल हुन सकेन ।” उहाँले प्रमिला भन्दा अगाडि पनि धेरै सामाजिक अभियन्ताहरूले उनलाई सहयोग गर्न खोजेको र उनको परिवारसँग नेपाली समुदाय निरन्तर सम्पर्कमा रहेको बताउनुभयो ।
सामाजिक कार्यकर्ता शर्मिला पौडेलले उनलाई प्रत्येक हप्ता भेटेर फोन, खाना, चुरोट र नगद सहयोग गर्दै आएको समेत ओझाले उल्लेख गर्नुभएको छ । प्रमिलाको निधनपछि अहिले नेपाली समुदाय उनलाई ससम्मान अन्तिम बिदाइ गर्ने तयारीमा जुटेको छ । ओझाका अनुसार सान फ्रान्सिस्कोको सडकमा अझै पनि २–३ जना नेपालीहरू घरबारविहीन अवस्थामा रहेका छन्, जसले प्रवासमा नेपालीहरूको मानसिक स्वास्थ्य र सामाजिक सुरक्षाको विषयमा गम्भीर प्रश्न उठाएको छ ।



