कृष्ण पक्ष थापा
काठमाडौँ, ६ वैशाख । इजरायल र लेबनानबीच युद्धविराम भएलगत्तै खुल्ने अपेक्षा गरिएको विश्वकै महत्त्वपूर्ण व्यापारिक मार्ग ‘होर्मुज जलडमरूमध्य’ (Strait of Hormuz) पुनः बन्द भएको छ। इरानले शुक्रबार दिनभरका लागि यो मार्ग खुला गर्ने घोषणा गरे पनि अमेरिकाले इरानसँग सम्बन्धित जहाजहरूलाई अवरोध गरेपछि स्थिति फेरि तनावपूर्ण बनेको हो।
इरानले आफ्नो मार्ग खुला गरे पनि अमेरिकी नौसेनाले इरानी जहाजहरूलाई पार हुन नदिएपछि इरानी सेनाले एक विज्ञप्ति जारी गर्दै अमेरिकाको यस कदमलाई ‘सामुद्रिक डकैती’ को संज्ञा दिएको छ। यता इरानी संसद्का सभामुख गालिबाफले अमेरिकी नौसैनिक नाकाबन्दीलाई ‘युद्धविरामको उल्लङ्घन’ भन्दै कडा प्रतिक्रिया दिने चेतावनी दिनुभएको छ। उनले नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग प्रत्यक्ष वार्ता भएको भनी गरेको दाबीलाई समेत ‘मिडियाबाजी’ र पूर्ण रूपमा गलत बताएका छन्।होर्मुज क्षेत्रमा बिछ्याइएका ‘माइन’ (विस्फोटक सुरुङ) को जोखिमका कारण व्यावसायिक जहाजहरू अन्योलमा परेका छन्। यही जोखिमलाई मध्यनजर गर्दै बिमा कम्पनीहरूले यस क्षेत्रमा चल्ने जहाजको ‘वार रिस्क इन्स्योरेन्स’ प्रिमियम ५००% सम्म बढाइदिएका छन्। शुक्रबार राति मार्ग खुलेको विश्वासमा करिब २० वटा जहाज अगाडि बढे पनि सुरक्षा जोखिमका कारण अधिकांश बीचबाटै फर्किएका छन्। ४७ दिनदेखि दुबईमा अड्किएको माल्टाको झण्डावाहक ‘सेलेस्टियल डिस्कभरी’ भने होर्मुज पार गरी ओमानको मस्कट पुग्न सफल भएको छ।
डोनाल्ड ट्रम्पले इरानसँग पूर्ण सम्झौता नभएसम्म इरानी बन्दरगाह र जहाजहरूमाथि अमेरिकी नाकाबन्दी ‘पूर्ण शक्ति’का साथ जारी रहने स्पष्ट पारेका छन्। अमेरिकी नौसेनाले अप्रिल ११ देखि १४ सम्म ‘युएसएस फ्र्याङ्क ई. पिटरसन’ र ‘युएसएस माइकल मर्फी’ जस्ता युद्धपोतहरूको सहयोगमा केही क्षेत्रमा ‘माइन’ हटाएर आफ्नै ‘सेफ प्यासेज’ सञ्चालन गरिरहेको छ।
अमेरिका र बेलायती नौसेनाले इरानी धरापहरू हटाउन आधुनिक हेलिकप्टर, ‘रेमस ६००’ जस्ता मानवरहित पनडुब्बी, र ‘सी फक्स’ आत्मघाती ड्रोनहरूको प्रयोग गरिरहेका छन्। इरानले नै आफूले बिछ्याएका सबै माइनहरूको सही स्थान थाहा नभएको सङ्केत दिएपछि यो खोजी कार्य थप चुनौतीपूर्ण बनेको छ।
खाडी राष्ट्रहरूको दबाब र इजरायल-लेबनान युद्धविरामले भीषण युद्धको सम्भावना केही घटाएको देखिए पनि होर्मुजमा जारी ‘वाक युद्ध’ र नाकाबन्दीले विश्व व्यापारलाई पुनः संकटापन्न बनाएको छ। इरानले लाराक टापु नजिकैबाट सुरक्षित मार्ग तोके पनि त्यसका लागि इरानी रिभोलुसनरी गार्ड को अनुमति अनिवार्य गरेको छ। अमेरिकी अडान र इरानी चेतावनीका बीच यो सामरिक जलमार्गको भविष्य अझै अनिश्चित नै देखिन्छ।



