चितवन, ३० असार । अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ सडक खण्डको विभिन्न स्थानमा पहिरो र लेदो खस्ने क्रम नरोकिएपछि सुरक्षाको दृष्टिकोणले उक्त सडक खण्डमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको विपद् व्यवस्थापनको आपतकालीन बैठकले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि यस सडक खण्डमा कुनै पनि प्रकारका सवारीसाधन चलाउन नपाइने गरी रोक लगाउने निर्णय गरेको हो ।
सडक डिभिजन भरतपुरका अनुसार हिजो साँझदेखि नै विभिन्न ठाउँमा पहिरो र लेदो खसेका कारण यो सडक खण्ड दुईतर्फी रूपमा अवरुद्ध बनेको थियो । सडक अवरुद्ध हुँदा बीच बाटोमै अलपत्र परेका यात्रु तथा सवारीसाधनहरूलाई भने हिजो बेलुका अबेरसम्म पहिरो पन्छाएर सुरक्षित रूपमा गन्तव्यस्थानतर्फ पठाइएको थियो । तर, यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको र पहिरो जाने उच्च जोखिम यथावत् रहेकाले यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले यातायात ठप्प पार्ने निर्णय लिएको हो ।
असार ३० गते मंगलबार बिहान ६:३० बजेको ताजा अपडेट अनुसार अहिले यस सडक खण्डको जलविले नजिकै पुनः पहिरो झरेको छ । पहिरो हटाएर सडक सुचारु गर्नका लागि सम्बन्धित स्थानमा आवश्यक मेसिन तथा प्राविधिक टोली परिचालन भइसकेको सडक डिभिजन भरतपुरले जनाएको छ । निरन्तरको वर्षाले गर्दा काम गर्न कठिनाइ भइरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले यो सडक भएर यात्रा गर्ने तयारीमा रहेका सम्पूर्ण सर्वसाधारणलाई सडकको अवस्था बुझेर मात्र निस्कन र सुरक्षाकर्मीको निर्देशन पूर्ण रूपमा पालना गर्दै सुरक्षित यात्रा गर्न सडक डिभिजनले हार्दिक अनुरोध गरेको छ ।
